काँग्रेस भोली ७५३ पालिकामा प्रदर्शन गर्दै



काठमाडौं : प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेसले भोलि शनिबार देशव्यापी प्रदर्शन गर्दैछ ।

पार्टीको पूर्व निर्धारित कार्यक्रमअनुसार कांग्रेसले भोलि देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको हो ।

प्रदर्शनमा सहभागी हुन कांग्रेसका सभापति शेरबहादुर देउवाले अपील गरेका छन । देउवाले शुक्रबार अपील जारी गर्दै ३ माघमा हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता कार्यकर्ताहरुमा आग्रह गरेका हुन ।

‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’ देउवाले भनेका छन ।

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरेको कांग्रेसले त्यसको विरोधमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसअघि कांग्रेसले पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । पूर्व निर्धारित कार्यक्रमअनुसार कांग्रेसले माघ ८ गते देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गर्ने भएको छ ।

पछिल्लो पटक पुस १९ गते बसेको बैठकले प्रतिनिधि सभा विघटन विरूद्ध प्रदर्शनका कार्यक्रमहरु तय गरेको थियो ।

प्रकाशित :२ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्