छिमेकी मुलुकका नागरिकले आजदेखि पाउँदैछन् कोरोना विरुद्धको खोप, नेपालीले कहिले ?



काठमाडौं : छिमेकी मुलुक भारतले आजबाट सर्वसाधरणलाई कोरोना विरुद्धको खोप प्रदान गर्दैछ । आज बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले यसको उद्घाटन गरेपछि खोप दिन सुरु गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतले पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिनेलाई खोप दिने बताएको छ । पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको बताइएको छ ।

भारतले अक्स्फोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप ‘कोभिसिल्ड’ उत्पादन गरिरहेको छ । सोही खोप आजबाट अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीलाई दिन लागेको हो ।
एक वर्षको अविधमा भारतमा १ करोड ५ लाख २७ हजार बढी मानिस संक्रमित भइसकेका छन् भने १ लाख ५१ हजार ९१८ जनाको ज्यान गइसकेको छ ।

नेपालीले कहिले पाउने ?

विश्वमा खोप उत्पादक मुलुकसहित छिमेकी देशका नागरिक खोप पाउन थाल्दा नेपालमा भने कुन खोप, कहिले र कहाँबाट ल्याउने भन्न नै निश्चित भएको छैन । अन्य मुलुकले कोभिड–१९ विरुद्धको खोप उत्पादनदेखि प्रयोगसम्मको चरणमा पुगिसक्दा नेपाल सरकार भने अलमलमै देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप आयातका लागि कूटनीतिक पहल भइरहेको भएपनि यत्ति दिनभित्र खोप आइपुग्छ भनेर अझै भन्न सक्ने अवस्था नरहेको बताएको छ । स्वास्थ्य अधिकारीहरुले खोप आयाताका लागि कूटनीतिक पहल भइरहेको र छिट्टै नेपाली नागरिकले पनि खोप पाउने दाबी गर्दै आएका छन् । २ देखि ८ डिग्रीको तापक्रममा भण्डारण गर्न मिल्ने खोपलाई सरकारले प्राथमिकता दिइएको बताएको छ ।

शुक्रबार मात्रै अक्सफर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले बनाएको कोरोना विरुद्धको खोपले नेपालमा पनि आपत्कालीन प्रयोगको अनुमति पाएको छ । उक्त खोपलाई भारतमा सीरम इन्स्टिट्यूट अफ इन्डियाले उत्पादन गरिरहेको छ ।

नेपालले पनि भारतमा सीरमद्वारा उत्पादित ’कोभिशील्ड’ नामक औषधिलाई आयात गरी आपत्कालीन प्रयोग गर्न अनुमति दिएको हो । तर आयातका लागि ठोस कदम भने सरकाले चालेको छैन ।

प्रतिक्रिया दिनुहोस्