प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ र प्रदेश एक भिड्दै



काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज विभागीय टिम एपीएफ र प्रदेश एक भिड्दै छन् । समूह ‘ए’ मा रहेका दुई टिमबीचको खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा साढे ९ बजे सुरु हुनेछ ।

शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने एपीएफ सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ । राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको एपीएफको टिम निकै मजबुत रहेको छ ।

यता, प्रदेश–१ पनि सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । सिद्दान्त लोहनीको कप्तानीमा रहेको प्रदेश– १ लाई पनि निकै बलियो टिमको रुपमा हेरिएको छ । दाङमा भएको महिलाको पीएम कप प्रदेश–१ ले जितेको थियो ।

यसै समूहको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरिसकेको छ । शुक्रबार आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले हराएको थियो । पीएम कपमा ७ प्रदेश र ३ विभागीय टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्