भारतमा कोरोनाविरुद्धको खोप अभियान शुरु, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन



काठमाडौं : भारतमा आजदेखि कोरोना भाइरस विरुद्धको राष्ट्रिय खोप अभियान शुरु भएको छ ।

आज विहान साढे १० बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो शन्देशमार्फत् अभियानको सुभारम्भ गरेका हुन् । खोप अभियान सुरु हुनुअघि नै देशभरका निर्धारित सबै स्थानमा खोप पुगिसकेको थियो ।

सरकारले बनाएको मापदण्डअनुसार पहिलो चरणमा करिब ३ कारोड फ्रन्ट लाइनरहरूलाई खोप दिइने छ । खोप अभियानको पहिलो दिनमा ३ लाख स्वास्थ्यकर्मीलाई दिइने सरकारको योजना छ ।
यो अभियनालाई भारत सरकारले संसारकै सबैभन्दा ठूलो खोप अभियान भन्दै प्रचार गरेको छ । केन्द्र सरकार र प्रदेश सरकारहरूले खोप अभियानका लागि ३ हजार ६ खोप केन्द्र स्थापना गरेका छन् ।

भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले केन्द्र सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय परिसरमा रहेको विशेष (कोभिड-१९) कक्षको अनुगमन गरेका थिए । सो क्रममा उनले चरणबद्ध रुपमा सबै प्राथमिकता समूहमा रहेका व्यक्तिले निः शुल्क खोप पाउने प्रतिबद्धता जनाए ।

सो क्रममा सीरम इन्स्टिच्यूडद्वारा निर्माण गरिएको कोरोना भाइरसविरुद्धको कोविशिल्ड भ्याक्सिन र भारत बायोटेकद्वारा विकास गरेको कोभ्याक्सिन दुबै सुरक्षित रहेको पनि उनले दोहोर्याए । यसकारण यी दुवै खोप महामारी रोक्न सफल हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

नेपालीले कहिले पाउने ?

विश्वमा खोप उत्पादक मुलुकसहित छिमेकी देशका नागरिक खोप पाउन थाल्दा नेपालमा भने कुन खोप, कहिले र कहाँबाट ल्याउने भन्न नै निश्चित भएको छैन । अन्य मुलुकले कोभिड-१९ विरुद्धको खोप उत्पादनदेखि प्रयोगसम्मको चरणमा पुगिसक्दा नेपाल सरकार भने अलमलमै देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप आयातका लागि कूटनीतिक पहल भइरहेको भएपनि यत्ति दिनभित्र खोप आइपुग्छ भनेर अझै भन्न सक्ने अवस्था नरहेको बताएको छ । स्वास्थ्य अधिकारीहरुले खोप आयाताका लागि कूटनीतिक पहल भइरहेको र छिट्टै नेपाली नागरिकले पनि खोप पाउने दाबी गर्दै आएका छन् । २ देखि ८ डिग्रीको तापक्रममा भण्डारण गर्न मिल्ने खोपलाई सरकारले प्राथमिकता दिइएको बताएको छ ।

शुक्रबार मात्रै अक्सफर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले बनाएको कोरोना विरुद्धको खोपले नेपालमा पनि आपत्कालीन प्रयोगको अनुमति पाएको छ । उक्त खोपलाई भारतमा सीरम इन्स्टिट्यूट अफ इन्डियाले उत्पादन गरिरहेको छ । नेपालले पनि भारतमा सीरमद्वारा उत्पादित ’कोभिशील्ड’ नामक औषधिलाई आयात गरी आपत्कालीन प्रयोग गर्न अनुमति दिएको हो । तर आयातका लागि ठोस कदम भने सरकाले चालेको छैन ।

प्रकाशित :३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्