मृतक इन्जिनियर गोइतका दाई आशिषलाई जागिर



जनकपुरधाम : मेलम्ची खानेपानी आयोजनाको सुरङ्ग परीक्षणको क्रममा दुर्घटनामा परि मृत्यु भएका इन्जिनियर सतिश कुमार गोईतको दाईलाई जागिर दिइएको छ ।

मेलम्ची खानेपानी परियोजनामा कार्यरत्त मृतक इन्जिनियर गोइतको निधन भए लगतै आन्दोलनरत्त इन्जिनियरहरु उनको परिवारबाट एकजनालाई जागिर दिनुपर्ने माग राख्दै आन्दोलित भएका थिए ।
आन्दोलनरत्त इन्जिनियर र खानेपानी मन्त्रालय बिच भएको पाँच बुँदे सहमति अनुसार उनका दाई आशिष गोइतलाई जागिर दिइएको बताइएको छ ।

प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल प्रदेश नम्बर २ का इन्चार्ज रामएकवाल यादव र अध्यक्ष सागर चौधरी, इन्जिनियर राजेशकुमार महतो, राकेश साह, संजय यादव लगायत संघीय खानेपानी कार्यालयका प्रमुख इन्जिनियर राजेश कुशवाहा, मन्त्रालयका सचिव माधव वेलवासले संयुक्त रुपमा मृतक गोइतका दाइलाई नियुक्तिपत्र प्रदान गरेका हुन् ।

नियुक्तिपत्र पाएका आशिष गोइत माघ १ गतेबाट कार्यालयमा काम गर्न सुरु गरिसकेका छन् ।
गत असार ३० गते मेलम्ची खानेपानी आयोजनाको सुरुङ्गको १७ नम्बर गेट फुट्दा बेपत्ता भएका २ जना मध्ये धनुषाको कमला नगरपालिका वडा नम्बर-५ का २५ वर्षीय इन्जिनियर सतिश गोईत र आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको मृत्यु भएको थियो ।

प्रकाशित :३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्