अध्यागमनले बिनाकारण यात्रु फर्काउन नपाउने



काठमाडौं : पर्यटक प्रवेशाज्ञा (टुरिस्ट भिसा)मा विदेश हिँडेका यात्रु अब बिनाकारण त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा रोकिनुपर्ने छैन। यात्रा उद्देश्य स्पष्ट हुँदाहुँदै पनि शंकाको भरमा अध्यागमनले यात्रुलाई फिर्ता (अफलोड) गर्न थालेको गुनासो आएपछि गृह मन्त्रालयले अध्यागमन कार्यविधि संशोधन गरी नयाँ व्यवस्था कायम गरेको छ।

 

संशोधित नयाँ व्यवस्थाअनुसार प्रस्थान अनुमति नदिनुपर्ने स्पष्ट लिखित आधार र कारण खुलाउनुपर्नेछ। साथै अध्यागमन अधिकृतले यात्रुको कागजात रुजु गर्ने र नपुग कागजात यकिन गर्नेछ। विगतमा अध्यागमन अधिृकतले कुनै पनि यात्रुको कागजातमा शंका लागे सीधै फिर्ता गर्न सक्थ्यो। तर अब अध्यागमन अधिकृतले शंका लागेका वा कागजपत्र नपुगेका यात्रुको सबै विवरण वरिष्ठ अध्यागमन अधिृकतसमक्ष पेस गर्नुपर्नेछ। अध्यागमन अधिकृतले बुझाएको कागजपत्रका आधारमा वरिष्ठ अध्यागमन अधिृकतले कुन यात्रुलाई प्रस्थान अनुमति दिने र कुनलाई फर्काउने भन्ने अन्तिम निर्णय गर्नेछ।

 

कुनै यात्रुलाई फर्काउनुपरे वरिष्ठ अध्यागमन अधिकृतले अध्यागमन प्रमुखको समेत स्वीकृति लिनुपर्ने अनिवार्य प्रावधान बनाइएको छ। कुनै पनि व्यक्तिको यात्रा र कागजात शंकास्पद भए कारबाही तथा थप अनुसन्धान गर्नुपरेमा वरिष्ठ अध्यागमन अधिकृतले रायसहित प्रमुख अध्यागमन अधिकृतकहाँ पेस गर्नुपर्ने व्यवस्था संशोधित कार्यविधिले गरेको छ।

प्रतिक्रिया दिनुहोस्