भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५ लाख नाघ्यो



काठमाडौं : भारतमा कोरोना भाइरस संक्रमितको संख्या शनिबारसम्म १ करोड ५ लाख ४२ हजारभन्दा बढी पुगेको छ ।

२४ घण्टाको अवधिमा भारतमा १५ हजार १५८ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या १ करोड ५ लाख ४२ हजार ८४१ पुगेकोे भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना संक्रमणका कारण १७५ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ९३ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख ७९ हजार भन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ ।

हाल भारतमा २ लाख ११ हजार ३३ सक्रिय संक्रमित रहेका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार २९५ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १० जनाको मृत्यु भएको छ । भारतमा कोभिड-१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७३२ भन्दा बढीको मृत्यु भइसकेको छ । दिल्लीमा गत बिहीबार कोरोना सङ्क्रमणको कारण चार जनाको मात्र मृत्यु भएको जनाइएको छ ।

यो मे ११ देखि हालसम्म कोरोना भाइरसको कारण एक दिनमा मृत्यु हुने व्यक्तिको संख्या सब भन्दा कम भएको समाचारमा जनाइएको छ । सरकारले देशका विभिन्न भागमा कोभिड-१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबारसम्म देशभर १८ करोड ५७ लाख ६५ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ ।

हिजो एक दिनमा मात्र ८ लाख ३ हजार ९० जनाको कोभिड-१९ परीक्षण गरेको जनाइएको छ । भारतमा आजदेखि कोरोना संक्रमणविरूद्धको खोप सर्वसाधारलाई दिन शुरू गरिएको छ । एजेन्सी

प्रकाशित :३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्