प्रदेश–१ राजधानी मुद्दा : सत्तारुढ नेकपा भित्रको विवाद उत्कर्षमा



विराटनगर : स्थायी राजधानी तोक्ने विषयलाई लिएर प्रदेश–१ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ।  विराटनगरलाई राजधानी बनाउने कि नबनाउने भन्ने विषयको विवाद सतहमा आएको हो। नेकपाका बहुसंख्यक सांसदले विराटनगरको विकल्प खोज्न भन्दै हस्ताक्षर संकलन समेत सुरु गरेका छन्।

प्रदेशका मुख्यमन्त्री शेरधन राईसहितका मन्त्रीपरिषदका सदस्यहरू विराटनगरमै राजधानी राख्न दृढ छन् भने नेकपाका बहुसंख्यक सांसद विराटनगरको विपक्षमा छन्। वैशाख १९ मा संसद्मा प्रस्ताव लैजाने र २२ गतेभित्र नाम र राजधानी टुंग्याउने गरी तयारी सुरु भएलगत्तै नेकपाभित्रको विवाद चुलिएको हो।

यद्यपि सांसदहरूले सार्वजनिक रुपमा भने हस्ताक्षर संकलन गरेको कुरा अस्वीकार गरेका छन्। ९३ सदस्सीय प्रदेश सभामा नेकपाका ६७ सदस्य छन्। सभामुख र उपसभामुख बाहेक ६५ जना सांसदमध्ये नेकपाका ३७ सांसदले विराटनगर राजधानी बनाउन नहुने मागमा हस्ताक्षर गरेका छन्। पार्टी नेतृत्वले ह्वीप लगाएर भए पनि विराटनगर नै राजधानी तोक्ने तयारी थालेपछि नेकपा सांसदहरुले हस्ताक्षर अभियान चलाएका हुन्।

प्रतिक्रिया दिनुहोस्