“हरेक युवाले म के हुन्छु भनेर लक्ष्य निर्धारण गर्नु जरुरी छ”



काठमडौं : तुलसी थापा अहिले होटल रेष्टुरेन्ट, बार सम्वन्धी तालिमहरु प्रदान गर्न व्यस्त छिन् । नेपालगन्ज क्षेत्रभित्र विभिन्न बेरोजगार युवावर्गका लागि आवश्यक होटल, रेष्टुरेन्ट, बार सम्वन्धी तालिमहरु प्रदान गरी युवालाई नेपाल मै आफ्नौ व्यवसाय गर्न अभिप्रेरीत गर्ने उनको प्रमुख उद्देश्य हो ।

दैलेखमा जन्मिएकी २३ वर्षिय तुलसी थापा टुईस्ट् हस्पीट्यालीटी फाउन्डरकोे रुपमा परिचीत छिन् । अहिले उनलाई नेपालगन्ज कोहोलपुरमा सबैले चिन्छन् । करिव ६ वर्ष देखि नेशनल लाईफ इन्स्युरेन्समा काम गरिरहेकी तुलसी भन्छिन्, ‘नेपालको परिवेश अनुसार समाज, पारिवारी वातावरण, धर्म, जात संगसंगै छोरा–छोरीलाई गर्ने व्यवहार पनि फरक पाएकी छु । झन् छोरीहरुलाई यस्तो होटल, रेष्टुरेण्ट बार सम्वन्धी ज्ञान भएपनि पेसाका लागि परिवारबाटै रोक लागाइएको हुन्छ । यसैलाई आफ्नो गाउँ समाजमा परिवर्तन गर्न चाहान्छु ।’

मानव शास्त्रमा मास्टर्स गरीरहेकी उनी सामाज सेवामा पनि उतिकै सरिक छिन् । अहिले आफुले स्थापना गरेको संस्थाबाट पहिलो चरण अन्र्तगत १ सय ५० जनालाई होटल, रेष्टुरेण्ट र बार सम्वन्धी तालिम दिइरहेकी उनी भन्छिन्, ‘लकडाउन पछि कोहोलपुरमा धेरै यस्ता होटलहरु खुल्दै छन्, यी सबैलाई मध्येनजर गरी यो कदम चालेकी हुँ, महिला दिदी बहिनी पनि लकडाउन पछि हामीसंग तालिम लिन आइरहनु भएको छ ।’

तुलसी थप्छिन्, ‘विश्वभर फैलिएको कोरोना महामारीमा हामी पनि अछुतो रहन सकेनौँ । तर हाम्रो राष्ट्रले बेरोजगार युवाहरुलाई कसरी बाटो दिने भन्ने विषयमा सोचेकै रहेनछ । र गर्छु भन्नेलाई पनि सहायता र हौसाला प्रदान गर्न सकेको छैन । त्यसैलेपनि आफैँ केही गर्नु पर्छ भन्ने उद्देश्यले हामीले यो अभियान चलाएका हौँ ।’ नेपालको भुगोल अनुसार हामी र हाम्रो संस्कार फरक भएपनि आत्मनिर्भर बन्न यसले नछेक्ने उनी बताउँछिन् ।

नौ महिनाको लकडाउन पछि कोहोलपुर लगायत विभिन्न ठाउँमा क्याफे, रेष्टुरेन्ट, बारहरु खुल्न थालेको तुलसीको भनाइ छ । ‘यसैलाई मध्येनजर गरी हाम्रो संस्थाले उनीहरुमा एक किसिमको दक्षता हासिल गराई काम खोजिदिने समेत गर्दै आएका छौँ । कति जना त काममा दक्ष पनि भइसक्नु भयो । हाम्रो एकै मात्र उद्देश्य भन्नु नै सवैलाई सिप सिकाएर कुनै न कुनै क्षेत्रमा सवल बनाउने हो ।’ उनी भन्छिन् ।

अव यसैलाई निरन्तरता दिने सोचमा आफू रहेको र यसैलाई देशभरी विस्तार गर्नेमा आफ्नो जोड रहेको उनको भनाइ छ । तुलसी भन्छिन्, ‘हाम्रो घरको वातावरणले नै सकारात्मक उर्जा र नयाँ कार्य गर्न प्रेरणा प्रदान गर्दछ । त्यसैले कतिपय कुरामा हाम्रा अभिभावकहरुले हामी जस्ता युवाहरुसंग सकारात्मक उर्जा प्रदान गर्न सक्नु भयो भने युवामा हौसला यतिकै जागृत भएर आउँछ ।
हरेक युवा वर्गले अब म के हुन्छु भनेर लक्ष्य निर्धारण गर्नु आवश्यक रहेको उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्