भारतमा दुई लाखलाई कोरोनाविरुद्धको खोप



नयाँ दिल्ली : भारतका एक सरसफाइ कर्मचारीलाई दिएर सुरु गरिएको संसारकै सबैभन्दा ठूलो खोप अभियानको पहिलो दिन एक लाख ९१ हजारभन्दा बढी व्यक्तिलाई कोरोना भाइरसको खोप दिइएको स्वास्थ्य मन्त्रालयले बताएको छ।

कोभ्याक्सिन र कोभिशील्ड दुवै खोप दिइएको पहिलो दिन तीन हजार ३५१ खोप केन्द्र सञ्चालनमा थिए। भारतीय स्वास्थ्य मन्त्रालयले खोपपछि कसैलाई पनि अस्पताल भर्ना गर्न नपरेको दाबी गरेको छ। नयाँ दिल्लीमा भने केही व्यक्तिले एलर्जीको लक्षण देखिएको बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले एक अर्ब २० करोड भारतीयलाई खोप दिने लक्ष्य राखिएको कार्यक्रमको प्रशंसा गरेका छन्। उनले पहिलो चरणमा खोप प्राप्त गर्ने अग्र मोर्चाका कर्मचारीहरूको पनि प्रशंसा गरेका छन्। भारतमा अमेरिकापछि सबैभन्दा बढी कोरोना भाइरस सङ्क्रमण भएको छ। ‘हामी संसारकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरिरहेका छौँ र यसले विश्वलाई हाम्रो क्षमता देखाउने छ’, शनिबार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले भने।

उनले मोबाइल एपको प्रयोगले कोही पनि नछुट्ने गरी भारतीय जनसङ्ख्यालाई खोप लगाउन तयार भएको बताए। मोदीले खोपका सुरक्षाका बारेमा फैलिएका मिथ्या सूचनालाई विश्वास नगर्न पनि अनुरोध गरे। भारतमा पहिलो चरणमा लगभग एक करोड स्वास्थ्यकर्मीलाई खोप लगाइने छ। त्यसपछि प्रहरी, सेना, नगरपालिका र अन्य स्थानका अग्र मोर्चामा खटिएका कर्मचारीको पालो आउने छ।

त्यसपछि ५० वर्षभन्दा माथिका र अन्य रोग भएका ५० वर्षभन्दा मुनिका व्यक्तिहरूलाई खोप दिइने छ। मतदाता नामावलीलाई आधार बनाएर खोप दिन थालिएको बताइएको छ। भारतको सरकारले अगस्तको मध्यसम्ममा ३० करोडलाई खोप दिने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्