बिरामीको मृत्युपछि आफन्तद्वारा क्लिनिक तोडफोड



विराटनगर । पित्त थैलीको शल्यक्रिया गर्न भर्ना भएकी बेलबारी नगरपालिका– ८ की ३२ वर्षीया सजना राईको मृत्यु भएपछि मृतकको आफन्तले विराटनगरको अवधनारायण मेमोरियल क्लिनिकमा आइतबार तोडफोड गरेका छन् ।
चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझेका छैनन् । क्लिनिकमा पित्तथैलीमा भएको पथरी झिक्न शल्यक्रिया गरेकी महिलाको उपचारको क्रममा शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
अवधनारायण मेमोरियल क्लिनिकले शल्यक्रिया गर्दा लापरबाही गरेको उनीहरुको आरोप छ ।
सजना गत पुस २८ गते विराटनगर–७ स्थित अवधनारायण मेमोरियल क्लिनिकमा भर्ना भएकी थिइन् । उनको सोही दिन शल्यक्रिया भएको थियो । तर शल्यक्रिया पछि उनको अवस्था जटिल बन्दै गयो । क्लिनिकमा आईसीयूसहित अत्यावश्यक सेवा नभएपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।
आइतबार भेला भएका स्थानीयले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले जानकारी दिए । अवस्थालाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्