केपी ओली प्रतिक्रान्तिकारी हुन् : झलनाथ खनाल



काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली कमरेड नभएर प्रतिक्रान्तिकारी भएको टिप्प्णी गरेका छन् ।
राजधानीमा आइतबार अनेरास्ववियुले गरेको भेलामा नेता खनालले भने, ‘ओली कमरेड होइनन्, प्रतिक्रान्तिकारी हुन् ।’ ओलीले जनमतको अपमान गरेका भन्दै खनालले ओली दक्षिणपन्थी भासमा फसेको आरोपसमेत लगाए ।
प्रधानमन्त्री ओलीले पार्टीभित्र विग्रह बढ्दै जाँदा कुर्सी भाँच्छु पनि भनेको नेता खनालले दाबी गरे । प्रधानमन्त्री ओलीले कुर्सी भाँच्छु, व्यवस्था सखाप पार्छु भन्दा आफूलाई प्रत्यार नलागेको उनको भनाइ छ ।
मौजुदा संविधानले प्रधानमन्त्री ओलीलाई व्यवस्था सखाप पार्ने र संसद नै विघटन गर्ने विशेषाधिकार नदिएकाले नपत्याइएको तर केपी ओलीले त्यसलाई मिचेर अघि बढेको खनालले बताए ।
ओली नेतृत्वमा आउनेबित्तिकै गुटबन्दी सुरु गरेको र त्यसले नै विग्रह निम्त्याएको पनि उनले दाबी गरे । ‘प्रधानमन्त्री ओलीले पार्टीका निर्देशन, नीति, विधान केही पनि नमानेको र बैठकको अवज्ञा गरे,’ उनले भने ।
माघ ९ गतेको उपत्यकाकेन्द्रित आन्दोलन कडा बनाउन पनि उनले निर्देशन दिए । ‘९ गते पार्टीले आयोजना गर्ने आन्दोलनलाई प्रभावकारी, दबाबमूलक बनाउन उपत्यकालाई अस्तव्यवस्त बनाउने, आवागमन प्रभावित बनाउनेगरी अघि बढौं,’खनालले भने ।
उनले मूल पार्टी नेकपा नै रहेको र ओली समूह चोइटिएको बताए । उनले ओली समूह रूखबाट बोक्रा उछिट्टिएझैँ अलग्गिएको बताउँदै पार्टीको आधिकारिकताको लडाइँमा नेकपाले नै जित्ने पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्