ओली सानो गुटतर्फ उन्मुख : माधव कुमार नेपाल



बर्दिया । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली सानो गुटको सानो नेता भएको टिप्पणी गरेका छन् । पार्टी एकीकरण लगायतमा ओलीको कुनै योगदान नभएको अध्यक्ष नेपालले दाबी गरे ।
नेकपाको वृहत कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रमलाई आइतबार बर्दियाको गुलरियमा सम्बोधन गर्दै उनले ओली सानो गुट उन्मुख भइरहेको बताए । झापा आन्दोलनको स्मरण गर्दे पार्टीमा विभिन्न किसिमका बाध अड्चन गरेर रुवाइरहेको उनको भनाई छ । ‘घरका केटा केटी बिठ्याई गर्दा लुकाएर राखेजस्तै गरी केपी ओलीले गरेका बदमासीलाई जहिल्यै लुकाउँदा ठूलो दुर्घटना गराए’, उनले भने ।
ओलीले आफु खुशी काम गरेर, जनताका समस्यालाई बेवास्ता गर्दा सिंगो मुलुक अफ्ठ्यारोमा परेको उनले जिकिर गरे ।
नेपालले पार्टी भित्रको विवादलाई लिएर असंवैधानिक कदम चालेर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको हत्या गरेको आरोप समेत लगाए । उनले ओलीका षड्यन्त्र सफल नहुने उल्लेख गर्दै ओलीका दम्भ र षडयन्त्रलाई सफल हुन नदिने बताए ।
संविधान मिचेर गरिएको संसद विघटन अलोकतान्त्रिक भएकोले ओलीको हुरीले नेकपालाई उडाउन नसक्ने उनको जिकिर छ । आफूहरु बाँचुन्जेल केपी ओलीले नेकपालाई हल्लाउन नसक्ने उनको दाबी छ ।

सम्बोधनमा धेरै समय ओली प्रतिको आक्रोशमा खर्चेका अध्यक्ष नेपालले कुनै आन्दोलन, गणतन्त्र एवम् लोकतन्त्रप्रति प्रतिबद्ध नभएका ओलीमा दम्भ सवार भएको बताए ।
‘ओलीले देशमा जेपनि गर्न सक्छु भन्दै आफूलाई संसारको शक्तिशाली हुँ भन्ने भ्रम पालेका छन् । महेन्द्र, ज्ञानेन्द्रबाट जोगाएको नेपाल अब तानाशाह केपी ओलीबाट जोगाउन आवश्यक छ’, नेपालले भने, ‘हामी हुँदासम्म ओलीको षड्यन्त्र सफल हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्