प्रधानमन्त्री ओलीले भने– राष्ट्रपतिमाथि किन हमला ?



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा प्रतिनिधि सभा विघटनको सिफारिस गरेको बताएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसं) को दोस्रो केन्द्रीय कमिटीको बैठकमा उनले देश बर्बाद हुनबाट बचाउन आफूले प्रतिनिधिसभा विघटन सिफारिस गरेको दाबी गरे ।
‘संविधानमा राष्ट्रपतिले सरकारको सिफारिशमा काम गर्ने व्यवस्था छ, अहिले त्यसअनुसार नै भएको हो’, उनले भने, ‘कमीकमजोरी कुरा गर्ने हो भने मसँग भन्ने हो, राष्ट्रपतिले हेर्ने होइन ।’ उनको प्रश्न थियो, ‘संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?’
संसद् विघटनको विषयमा टिप्पणी गर्ने नेताहरूले राष्ट्रपतिको मर्यादा समेत ख्याल गर्न ओलीले सुझाव दिए । उनले संसद् विघटन आफूले गरेको तर राष्ट्रपति माथि हमला गर्न थालिएको बताउँदै भने, ‘हिजो नक्कली राजालाई दाम चढाउनेले यतिबेला गणतन्त्र माथि हमला गर्दैछन् ।’
न्यायाधीशको मनोबल गिराउने गरी स्वतन्त्र न्यायलयमाथि प्रहार गरिएको पनि उनको भनाइ छ । ’न्यायलय र निर्वाचन आयोगजस्ता संवैधानिक निकायमाथि पनि सडकबाट हमला भइरहेको छ,’उनले भने ।
आफूले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरूको जवाफदेहिता लिन तयार रहेको उल्लेख गर्दै ओलीले आफूले संविधानसम्मत् तथा कानुनसम्मत् काम गरेकोले जवाफदेहिता लिने बताए । आफूले गरेको काम लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रको सार्वभौमसत्ताको पक्षमा रहेको उनको दाबी छ ।
ओलीले पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादामाथि हमला गर्ने तथा हुर्मत लिने काम गरेको आरोपसमेत लगाए । निर्वाचन आयोगलाई निर्वाचन नगर्न आग्रह गरेर लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयनविपरीत उनीहरू लागेको ओलीको दाबी छ ।
उनले पार्टी विभिन्न गुट–उपगुटमा विभक्त भएकाले एकीकरण प्रक्रिया सम्पन्न हुन नसकेको बताए । विगत तीन वर्षको अवधिमा पार्टीको नीति, उद्देश्य, गन्तव्य केही नभएको उनको भनाइ छ । पार्टी र आन्दोलनमा एउटा महान् शुद्धीकरण आवश्यकता रहेकामा अहिले त्यो प्राप्त भएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्