बेलायतमा एक मिनेटमा १४० जनाले लगाए कोरोना खोप



काठमाडौं : बेलायतले कोरोनाविरुद्धको खोप वितरण कार्यलाई तीव्रता दिएको छ । कोरोना संक्रमण वृद्धिदर भन्दा पनि तीव्र गतिमा कोरोना विरुद्धको भ्याक्सिन वितरण भइरहेको नेशनल हेल्थ सर्भिस (एनएचएस) लाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

पछिल्लो तथ्यांक अनुसार एक मिनेटमा १४० जनालाई कोरोना विरुद्धको खोप दिइएको नेशनल हेल्थ सर्भिस (एनएचएस) का प्रमुख सर साइमन स्टिभेन्सले बताए । खोप अझै तीव्र गतिमा अघि बढाउन आउँदो दश दिनभित्र हप्ताको सातैदिन चौबिसै घण्टा खोप वितरण गरिने भएको छ ।

७० वर्षमाथिका ५० प्रतिशतले खोप पाइसकेको स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले जानकारी दिए । हालसम्म ४३ लाख ७ हजारभन्दा बढी खोप वितरण गरिसकिएको सरकारले जनाएको छ ।

३८ लाख ५७ हजार २६६ जनाले पहिलो डोज लगाएका छन् भने ४ लाख ४९ हजार ७३६ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् । खोप वितरणका लागि आजदेखि १० भन्दा बढी केन्द्रहरु सञ्चालनमा आउने भएका छन् ।

बेलायतमा कोरोना संक्रमण, मृत्युदर र अस्पताल भर्ना हुनेको संख्याको आधारमा पछिल्लो दुई हप्तामा महामारी भएयताकै नयाँ रेकर्ड कायम भएको छ । सन् २०२१ को सुरुवातसँगै बेलायतमा एकैदिनमा मृत्यु हुनेको संख्या १५ सय नाघ्यो भने झन्डै ७० हजारको हाराहारीमा संक्रमित थपिए ।

यसैगरी अस्पतालमा उपचार गराइरहेका संक्रमितको संख्या गत अप्रिलको उच्च विन्दुको भन्दा अहिले दोब्बर पुगेको छ । एजेन्सी

प्रकाशित :५ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्