नेपालमा नयाँ प्रजातिको कोरोना पुष्टि



काठमाडौं : नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका ३ जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

आज (सोमबार) विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा नयाँ प्रजातिको कोरोना देखिएको जानकारी दिए । केही दिनअघि बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो कि होइन भनेर विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । सोमबार ती नमूनाको रिपोर्ट आएको हो ।

बेलायतबाट आएका २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा देखिएको भाइरस यसअघि बेलायतमा देखिएको नयाँ भेरियन्टसँग मिलेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष संक्रमणमुक्त भइसकेका छन् भने ६७ वर्षीय पुरूषमा कुनै लक्षण देखिएको छैन ।

बेलायतसहित युरोपियन मुलुक, अमेरिका र अफ्रिकामा फैलिएको नयाँ प्रजातिको भाइरस पहिलाको भन्दा बढी संक्रामक रहेको वैज्ञानिकहरूले बताएका छन् । नयाँ प्रजातिको भाइरसको संक्रमण ह्वात्तै बढेपछि बेलायतमा लकडाउन घोषणा गरिएको छ ।

काशित :५ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्