संसद् होइन, संविधान र गणतन्त्र नै विघटन : प्रचण्ड



काठमाडौं : नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् मात्र नभई संविधान र गणतन्त्र नै विघटन गरेको आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले ओलीको कदम संविधान र गणतन्त्रमाथिकै प्रहार भएको बताए ।

पार्टीनिकट महिला संगठनले सोमबार काठमाडौंमा आयोजना गरेको भेलामा बोल्दै उनले भने, ‘केपी ओलीले संसद् विघटन गरेका होइनन् । संविधानमा यो व्यवस्था पनि छैन । प्रधानमन्त्रीलाई यो अधिकार पनि छैन । उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नै विघटन गरेका हुन ।’ ढिलो नगरी जनअदालतबाट ओलीको कदम खारेज गर्नुपर्ने बताउँदै उनले ७० वर्षको त्याग तपस्याबाट आर्जन गरेको उपलब्धि पास्न केपी ओली खलनायक बनेको आरोप लगाए ।

प्रधानमन्त्रीले निरंकुशताको सपना देख्दै परिवर्तनहरूको हत्या गर्न उद्यत रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले माघ ९ गते विशाल प्रदर्शनमार्फत् जनताको शक्ति देखाउन अपील पनि गरे । जनताको बहुदलीय जनवादी कार्यदिशा त्याग्ने पहिलो नेता ओली भएको पनि प्रचण्डले दाबी गरे । ‘पार्टी एकताका बेला ओलीले जबज किन त्यागे भनेर मलाई आश्चर्य लागेको छ । त्यतिबेला ओली जबज त्याग्न तत्पर भएपछि म माओवादा र एक्काइसौँ शताब्दीमा जनवाद पनि त्याग्न र नयाँ कार्यदिशा तय गर्न तयार रहेको थिएँ,’ उनले भने ।

पार्टी एकताका बेला जबज त्याग्न सहमत भएको त्यसपछि मदन भण्डारी फाउन्डेसनका नाममा पुनः ब्युँताउन उद्यत रहेको उनको आरोप छ । अध्यक्ष प्रचण्डले एकतापछि फुटपरस्त गतिविधि बढाएको र कालान्तरमा संसद्कै हत्या गर्न अग्रसर हुने ओली प्रवृत्तिलाई चिन्नुपर्ने पनि बताए । उनले केही नेता-कार्यकर्ता अहिले पनि ओलीको भ्रममा परेको बताउँदै उनीहरू फर्कने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित :५ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्