कहिले शुरु हुन्छ नेपालमा खोप अभियान? यस्तो छ तयारी



काठमाडौं : नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको भारतीय कोरोनाविरुद्धको खोप उपलब्ध भएको दुई तीन साताभित्र खोप अभियान सञ्चालन गर्न सकिने सरकारी अधिकारीहरुले बताएका छन् ।

खोप कति संख्या प्राप्त हुने हो त्यसको परिमाणको आधारमा पहिलो चरणमा स्वास्थ्यकर्मी र विभिन्न अस्पतालमा कार्यरत जनशक्तिलाई खोप दिइने छ भने त्यसपछि प्राथमिकताका आधारमा खोप वितरण गरिने ती अधिकारीको भनाइ छ ।

औषधि व्यवस्था विभागले भारतीय एक कम्पनीले उत्पादन गरेको कोभिसिल्ड नामक कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै त्यसको अभियान सञ्चालनको तयारीका लागि मङ्गलबारदेखि राजधानीमा प्रशिक्षण कार्यक्रम पनि सुरु भएको छ ।

खोप सुरक्षित रूपमा राख्न केन्द्र र सबै प्रदेशमा एउटा एउटा गरी कुल आठवटा भण्डारण केन्द्र निर्माणको जिम्मेबारी नेपाली सेनाले पाएको छ। सरकारी खोप अभियानअन्तर्गत अहिले देशभरि खोप लगाइदिने सीप भएका झन्डै आठ हजार जनाको जनशक्ति रहेको स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। झलक गौतम बताउँछन्।अहिलेसम्म नेपाल सरकारले भारतको सीरम इन्स्टिट्यूटले उत्पादन गरेको अक्सफर्ड/एस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ।

के हो आपत्कालीन प्रयोगको अनुमति ?
कुनै पनि अन्य विकल्पहरू नरहेको अवस्थामा जनस्वास्थ्य सङ्कटलाई ध्यान दिएर परीक्षणमै रहेका औषधि वा खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिने गरिन्छ।

नेपालमा विगतमा यससम्बन्धी कानुनी व्यवस्था नभएको भए पनि सरकारले अध्यादेशमार्फत् कानुनमा संशोधन गरी खोप ल्याउन सकिने व्यवस्था गत नोभेम्बर महिनामा मिलाएको थियो।औषधि (तेस्रो संशोधन) अध्यादेशले विश्व स्वास्थ्य सङ्गठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा आपत्कालीन प्रयोगको अनुमति प्रदान गरेका औषधि वा खोपलाई नेपालमा ल्याउन बाटो खोलेको थियो।

उक्त प्रावधानलाई टेकेर गत साता औषधि व्यववस्था विभागले अक्सफर्ड एस्ट्राजेनेकाले विकास गरेको भारतमा उत्पादन भइरहेको कोभिसिल्ड खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको हो। विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार प्रारम्भिक र अन्तरिम प्रतिवेदनहरूले तुलनात्मक रूपमा खोप सुरक्षित एवं प्रभावकारी रहेको निष्कर्षसहित त्यस्तो अनुमति दिइएको हो।
स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको खोप विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेती लाभ र सम्भावित हानि दुवैलाई ध्यान दिएर मानिसको ज्यान जोगाउन महामारीको समयमा आपत्कालीन प्रयोगको अनुमति दिने अभ्यास रहेको बताउँछन्।

अहिलेसम्म १८ वर्षभन्दा मुनिका व्यक्तिलाई कोभिसिल्ड खोप नदिइएको हुनाले नेपालमा पनि त्यसै गरिने डा। उप्रेतीले जानकारी दिए। त्यसबाहेक गर्भवती महिला र स्तनपान गराइरहेका महिलाहरूलाई उक्त खोपको प्रभावकारिताबारे भइरहेका वैज्ञानिक अध्ययनहरूको थप निष्कर्ष नआएसम्म खोप नदिइने उनको भनाइ छ।

दक्षिण एसियामा कुन कुन खोपलाई अनुमति ?
कोभिसिल्डबाहेक भारत बायोटेक नामक स्वदेशी कम्पनीले विकास गरेको कोभ्याक्सीन नामक खोपलाई पनि भारत सरकारले आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ। पाकिस्तान र बङ्ग्लादेशले अक्सफर्ड(एस्ट्राजेनेकाको खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएका छन्।

जनवरी महिनाको सुरुमा भएको आफ्नो श्रीलङ्का भ्रमणमा भारतीय विदेशमन्त्री एस जयशङ्करले श्रीलंङ्कालाई कोरोनाविरुद्ध खोप उपलब्ध गराउनु भारतको प्राथमिकता हुने बताएका थिए। भुटानले अक्सफर्ड/एस्ट्राजेनेकाको १० लाख मात्रा खोप उपलब्ध गराउन सहयोग गर्न भारतलाई अनुरोध गरेको छ। चीनले आसीयानसँग आबद्ध कैयौँ देशलाई आफ्नो देशमा विकास भएको खोप उपलब्ध गराउने विवरण आएका छन्।

नेपालले कहाँबाट खोप ल्याउँदैछ ?
अहिलेसम्म नेपालको प्रयास भारतबाट अक्सफोर्ड/एस्ट्राजेनेका खोप भित्र्याउनेमै छ। नेपालले देशको कुल जनसङ्ख्याको २० प्रतिशत अर्थात् ६० लाख जनालाई पुग्नेगरी खोप किन्ने इच्छा व्यक्त गरेको छ। त्यसका नेपाली पक्षले सहयोगको अपेक्षा गर्दै भारत सरकारलाई औपचारिक अनुरोध गरिसकेको छ।

गत साता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन नयाँ दिल्ली जाँदा खोपको विषयमा पनि चर्चा भएको बताइन्छ। स्वास्थ्य मन्त्रालयका एक अधिकारीले दिएको जानकारीअनुसार भारतले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ तर कुन परिमाणमा खोप प्राप्त हुन्छ प्रष्ट भइसकेको छैन।

खोप अभियान सञ्चालनबारे यस्तो छ तयारी ?
खोप अभियान सञ्चालनको लागि कुन समयमा कसले खोप प्राप्त गर्ने विवरण समेटिएको सेवाग्राहीको सूची तयार भइरहेको खोप शाखाका प्रमुख डा. गौतमले जानकारी दिए। उनले कहाँ खोप दिने भनेर सरकारले स्थान तोक्ने पनि बताए। विद्यमान स्वास्थ्य प्रणालीमा खोप लगाइदिने दक्ष जनशक्तिको सङ्ख्या ८,००० रहेको र आवश्यकताअनुसार जनशक्ति भर्ना गर्न सकिने सरकारी भनाइ छ।

अभियानकै रूपमा कोरोनाविरुद्ध खोप दिइने भन्दै खोपविज्ञ उप्रेतीले सुरुमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी र अस्पतालमा कार्यरत अन्य व्यक्तिलाई खोप दिइने बताए। उनी भन्छन्, ‘थोरै खोप पायौँ भने हामी स्वास्थ्यकर्मीलाई मात्रै दिन्छौँ। अलि बढी पायौँ भने हामी महिला स्वयंसेवी र सुरक्षाकर्मीमा जान्छौँ ।’

प्रतिक्रिया दिनुहोस्