
नेपालगञ्ज : बाँकेमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार १ जनाको होम आइसोलेसनमा र एकको भेरी अस्पतालमा मृत्यु भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका-१० का ७० वर्षीय पुरुषको सोमबार राति ९ः३० बजे होम आइसोलेसनमा र नेपालगञ्ज उपमहानगरपालिका-१ धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा मंगलबार बिहान ६ः१० बजे मृत्यु भएको केन्द्रले जनाएको छ ।
७० वर्षीय पुरुषमा २६ पुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेका थिए । अक्सिजन लेभल कम भएपछि उनलाई २७ पुषमा भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।
स्वास्थ्यमा सुधार आएपछि उनलाई पुनः होम आइसोलेसनमा बस्ने गरी २९ पुषमा डिस्चार्ज गरिएको र मधुमेह, थाइरोइड, प्रेसर, मानसिक रोगको औषधि सेवन गरिरहेका उनको सोमबार राति ९ः३० बजे आफ्नै निवासमा मृत्यु भएको परिवारीक स्रोतले जानकारी दिएको छ ।
धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा भर्ना भएको १० मिनेटपछि मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना परीक्षण गर्दा २८ पुषमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
क्रमण पुष्टि भए पनि स्वास्थ्य अवस्था सामान्य रहेका उनी होम आइसोलेसनमा बसेका थिए । तर सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई भेरी अस्पतालको कोभिड वार्डमा बिहान ६ बजे भर्ना गरिएको थियो । रोगको प्रकृति अनुसार उपचार शुरु गरिए पनि बिहान ६ बजेर १० मिनेटमा उनको मृत्यु भएको अस्पताल जनाएको छ ।
प्रकाशित :६ माघ, २०७७