भारतमा कोरोना खोप लगाएका २ स्वास्थ्यकर्मीको मृत्यु



नयाँदिल्ली :भारतमा कोरोना भाइरस (कोभिड-१९) को खोप लगाएका २ स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शनिबार कोरोना खोप लिएका स्वास्थ्यकर्मीको आइतबार र सोमबार मृत्यु भएको हो ।

दुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृदयाघात भएको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार आइतबार साँझ भारतको उत्तर प्रदेशको मुरादाबादका ४६ वर्षीय स्वास्थ्यकर्मीको निधन भएको थियो । मुरादाबादका प्रमुख मेडिकल अधिकारीले उनको मृत्यु कोरोना खोपसँग भने सम्बन्धित नभएको बताएका छन् ।

शनिबार खोप लिएका कर्नाटकका ४३ वर्षीय अर्का स्वास्थ्यकर्मीको पनि सोमबार मृत्यु भएको थियो । उनको मृत्यु पनि हृदयाघातको कारण भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

खोप लिएको २ दिनपछि उनको मृत्यु भएको भए पनि उनको मृत्युमा कोरोना खोपको कुनै सम्बन्ध नरहेको विशेषज्ञहरुले बताएका छन् । भारतमा शनिबारदेखि सुरु भएको कोरोना खोपअन्तर्गत खोप लिएका धेरै मानिसहरुमा यसको नकारात्मक असर देखिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

अहिलेसम्म भारतका ३ लाख ८१ हजार स्वास्थ्यकर्मीले कोरोना खोप लिएका छन् । जसमध्ये ५८० जनामा खोपको नकारात्मक असर देखिएको छ भने ७ जनालाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था देखिएको जनाइएको छ ।

प्रकाशित:६ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्