चिसोका कारण प्रदेश २ मा चार जनाको मृत्यु



जनकपुर : प्रदेश २ मा अत्याधिक चिसोका कारण एक बालकसहित चार जनाको मृत्यु भएको छ ।

चिसो र शीतलहरका कारण सर्लाहीको हरिपूर्वा-४का२४ वर्षीय रोजाई शेख, सिरहा कर्जन्हा-३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर-१का ८५ वर्षीया प्रयागी देवी साह र मिर्चैया-७ का ८ वर्षीय बालक जाबिर राइनको मृत्यु भएको हो ।

पुस अन्तिम सातादेखि चलेको शीतलहरले यहाँको जनजीवन कष्ठकर बन्दै गएको छ । कठ्याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण पुसयता चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

शरीरलाई छोप्ने न्यानो लुगा, ओड्ने र ओछ्याउने कपडाको अभावमा विपन्न परिवार दिन विताउन वाध्य छन् । दैनिक ज्यालादारी गरी गुजारा चलाउने परिवार अहिले कठ्याङ्ग्रिदो चिसोबाट बचन परालकै ओड्ना, डसना, गुन्द्रीजस्ता सामान ओढेर रात बिताउने गरेका छन् ।

प्रदेश २ का आठवटै जिल्लामा चिसोबाट बच्न १२७ ठाउँमा आगो ताप्ने व्यवस्था समेत गरिएको प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले जनाए ।

प्रकाशित : माघ, २०७७

प्रतिक्रिया दिनुहोस्