युद्धमा जाने उद्देश्य होइन, प्राप्त उपलब्धिको रक्षा गर्छौं :प्रचण्ड



काठमाडौं :नेकपा प्रचण्ड-ओली समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुको उद्देश्य युद्धमा जान नभएको स्पष्ट पारेका छन् ।

प्रेस संगठन नेपालको भेलालाई मंगलबार काडमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले फेरि आन्दोलन गर्नुपर्ने आवश्यक्ता रहेको बताए । तर त्यसका लागि आफूहरु युद्धमा नै जाने उद्देश्य नरहेको उनले स्पष्ट पारे । केही दिनअघि अध्यक्ष प्रचण्डले एक कार्यक्रममा शाकाहारी आन्दोलनले नपुग्ने अभिव्यक्ति दिएका थिए ।

आफूहरुले कानुनी राजको मान्यतामा हस्ताक्षर गरिसकेकाले हिसांत्मक आन्दोलनतर्फ नजाने बताउँदै उनले आफूले बोलेका कतिपय कुराको अपव्याख्या भएको दाबी गरे । आफैंले बनाएको प्रधानमन्त्रीले संविधानको हत्या गर्न खोजेको प्रचण्डको आरोप छ । उनले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनस्र्थापना गर्ने प्रक्रियाको सुरुवात भएको पनि दाबी गरे ।

संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास गनाएको टिप्पणी गर्दै उनले भने,‘यो राजतन्त्र पुनःस्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ ।

‘ओलीले आफ्नो अधिकार नभएको प्रयोग गरेका छन् । देशलाई अराजकताको भूमरीमा लाने प्रयास भएको छ । त्यसलाई जसरी भए पनि रोक्नुपर्छ’, उनले भने, ‘ओलीको भाषामा राजा महाराजाको गन्ध गइरहेको छ ।’

नेपाली जनतालाई सिंहको संज्ञा दिँदै सबैले एकपटक गर्जिनुपर्ने उनले आग्रह गरे । पार्टीभित्र बहुमतको निर्णय लागू हुने विधानमा रहेको स्पष्ट उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दा ओलीले किर्ते सहमति गरेको दाबी गरे ।

प्रकाशित :६ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्