नेपालमा जलपंक्षीको संख्या घट्यो



काठमाडौं : यस वर्षको जलपंक्षी गणनामा चराको संख्या घटेको देखिएको छ ।

गत पुष १८ देखि माघ ५ गतेसम्म गरिएको गणनाको प्रारम्भिक तथ्यांकअनुसार यस वर्ष जलपंक्षीको संख्या घटेको हो ।

कोशी नदी, जगदीशपुर रामसार क्षेत्र, चितवन, कर्णाली नदी र बढैया ताल क्षेत्रमा जल पंक्षीको संख्या घटेको जनाइएको छ । सिमसार क्षेत्र घट्दै जानु, कृषिमा रासायनिक मलको प्रयोग बढ्नु, अवैध चरा सिकार, मौसम परिवर्तन जस्ता कारणले जलपंक्षीको संरक्षणमा चुनौती थपिएको संरक्षणविद्हरूको भनाइ छ ।

सिमसार क्षेत्रका सूचकका रूपमा हेरिने जलपंक्षीहरूका प्रजाति र संखया घट्नु चिन्ताको विषय भएको भन्दै बेलैमा संरक्षणका कदम चाल्नुपर्नेमा विज्ञहरूले सुझाव छ । सन् २०२१ को गणनामा कोशी नदीमा ६२ प्रजातिका १९ हजार ५ सय ४४ जलपंक्षीको रेकर्ड भएको छ ।

कोशी पंक्षी समाजका अध्यक्ष सञ्जीव आचार्यका अनुसार कोशीमा सन् २०१९ मा ५८ प्रजातिका २१ हजार ७ सय ४४ र २०२० मा ६१ प्रजातिका १६ हजार १२ जलपंक्षीको रेकर्ड गरिएको थियो । जगदीशपुर रामसार क्षेत्रमा पनि गएको वर्ष १५ हजार चार सय ९६ को संख्यामा रेकर्ड भएका पनि चरा यस वर्ष १२ हजार ४ सय ७६ मात्र गणना भएको नेपाल पक्षी संरक्षण संघको जीव विज्ञ देउबहादुर रानाले बताए ।

चितवनमा पनि यस वर्ष जल चराको प्रजाति संख्यामा कम देखिएको बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष रमेश चौधरीले बताए । कर्णाली नदी र बढैया ताल क्षेत्रमा पनि चराको संख्यामा विगतभन्दा कम देखिएको बर्दिया नेचर क्लबका अध्यक्ष राम शाहीले बताएका छन् ।

हिउँदमा चिसो बढेसँगै चराहरूको बसाइ–सराइ हुने यो समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं संख्याको अद्यावधिक गर्न जलपंक्षीको गणना गरिएको थियो । देशभरका ५ दर्जनभन्दा बढी सिमसार क्षेत्र, तालतलैया र नदीमा गणना गरिएको गणनाका राष्ट्रिय संयोजक डा.हेमसागर बरालले जानकारी दिए । नेपालमा ८ सय ८६ भन्दा बढी प्रजातिका चरा पाइन्छन् । तीमध्ये १ सय ५० भन्दा बढी हिउँद र ६० भन्दा बढी चरा गर्मीयाममा नेपाल आउने गर्छन् ।

प्रकाशित :६ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्