भारतले बुधबारबाट नेपालसहितका देशलाई कोरोना खोप उपलब्ध गराउने



काठमाडौं । भारतले नेपालसहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप बुधवारबाट कोरोनाभाइरस खोप उपलब्ध गराउने घोषणा गरेको छ ।
भारतको विदेश मन्त्रालयले मंगलबार राति विज्ञप्ति जारी गरी कोभिड महामारीसँग जुझ्न भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, नेपाल, म्यानमार र सेसल्सलाई बुधवारबाट खोप अनुदानमा वितरण गरिने जनाएको छ । विदेश मन्त्रालयको विज्ञप्तिमा देशभित्रका उत्पादकहरूले भारतभित्रको आन्तरिक माग पुरा गर्ने हिसाबको पर्याप्त भण्डारण गरेपछि खोप बाहिर पठाउने कुरा सुनिश्चित गरिने उल्लेख गरेको छ ।
यद्यपी कुन देशलाई कति परिमाणमा खोप उपलब्ध गराइने विदेश मन्त्रालयले जानकारी दिएको छैन ।
यसअघि भारतीय विदेशमन्त्रालयले श्रीलंका, अफगानिस्तान र मोरिससलाई त्यहाँका नियामक निकायहरूले स्वीकृति दिएपछि खोप उपलब्ध गराउने जनाएको थियो ।
अघिल्लो साता नेपालको औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफर्ड एस्ट्राजेनेकाको कोभिशिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।
भारतले चरणबद्ध रूपमा अति अग्रमोर्चामा खटिने कामदार र जोखिममा रहेका जनसंख्यालाई खोप उपलब्ध गराउँदै आइएको भन्दै अरू साझेदार देशहरूलाई पनि चरणबद्ध रूपमा आगामी हप्ता र महिनामा खोप उपलब्ध गराउने उल्लेख गरेको छ ।
हालै नेपालले झण्डै ६० लाख मानिसहरूका लागि कोभिशिल्ड खोप भारतबाट खरिद गर्ने इच्छा जाहेर गरेको छ ।
त्यसका लागि सघाउन भारत सरकारलाई औपचारिक रूपमा नै अनुरोध गरिएको भएपनि खोप खरिदबारे ठोस निर्णय भएको छैन ।
यसै साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगै स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि भारत भ्रमणमा थिए । भ्रमणका क्रममा खोपको विषयमा पनि छलफल भएको थियो । स्वास्थ्य मन्त्रालयले खोप आएको एक साताभित्रै लगाउन थाल्ने गरी योजना बनिसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्