ट्रम्पलाई विदाई गरेर आज बाइडेनलाई स्वागत गर्दै अमेरिका



वासिङटन : अमेरिकाले आज (बुधबार) औपारिक रुपमै नयाँ राष्ट्रपति पाउँदै छ , नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले आज शपथसँगै पदभार ग्रहण गरेपछि ह्वाइटहाउसले नयाँ नेतृत्व पाउने भएको हो ।

उनीहरूले आज नेपाली समयअनुसार १०ः१५ बजे शपथ लिँदैछन् । सपथग्रहण कार्यक्रममा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सशस्त्र आक्रमणको आशंका गर्दै वासिङटनमा २५ हजार सैनिक तैनाथ गरिएको छ ।

विगत केही दिनदेखि अमेरिकी सुरक्षा संस्थाले शपथ ग्रहण समारोह अगाडि हिंसा हुन सक्ने आशंका गरेको छ । हजारौं प्रहरी र सुरक्षाकर्मीका साथै नेशनल गार्डका २५ हजारभन्दा बढी जवान तैनाथ गरिएको छ ।

अमेरिकी संसद् भवन क्यापिटलका वरपर, पेनसिल्भानिया एभेन्यु र ह्वाइट हाउसका छेउछाउका अधिकांश भागमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । ती स्थानमा ८ फिट अग्ला बार लगाइएको छ । पूरै शहरमा सुरक्षा सतर्कता बनाइएको छ ।

राज्यका संसद् भवनमा सुरक्षा सतर्कता राखिएको छ । जनवरी ६ मा अमेरिकी संसद् भवनमा भीडले गरे जस्तो हिंसात्मक आक्रामणका घटना हुने आशंकामा सुरक्षा अधिकारीलाई सजग बनाइएको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्