प्रधानमन्त्री कप क्रिकेट : आज पुलिस र सुदूरपश्चिम तथा आर्मी र प्रदेश एक भिड्दै



काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आज दुई खेल हुँदैछ । साविक विजेता पुलिस र सुदूरपश्चिम बिचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । समूह बी मा रहेका दुवै टोली पहिलो जितको खोजीमा छ ।

पुलिस र सुदूरपश्चिम दुवै आफ्नो पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको थियो । साविक विजेता पुलिसमा राष्ट्रिय टिमबाट सिनियर र उमेर समूहमा खेलिसकेका खेलाडीको वर्चस्व छ । तर पहिलो खेलमा बागमतीसँग लज्जासपद ब्याटिङ गर्दै ७ विकेटको हार बेहोरेको थियो । सुदूरपश्चिम पनि बागमतीसँग फराकिलो अन्तरले पराजित भएको थियो ।

यस्तै समूह ए मा रहेका त्रिभुवन आर्मी क्लब र प्रदेश १ बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । साविक उपविजेता आर्मी लगातार दुई खेल जित्दै ४ अंकसहित समूह ए को शीर्ष स्थानमा छ ।
आर्मीले गण्डकी र कर्णाली प्रदेशलाई पराजित गरेको थियो ।

आर्मीले समूहको अन्तिम खेल एपीएफसँग माघ १२ गते खेल्नेछ । त्यसअघि नै लगातार तीन खेल जित्दै आर्मी सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छ । उता प्रदेश १ पहिलो खेलमा गण्डकी प्रदेशसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्