प्रचण्डले भने – देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्न आफू तयार रहेका बताएका छन् ।

संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा देउवा वा देउवाले भनेको अन्य कुनै पनि व्यक्तिलाई समेत प्रधानन्त्री मान्न आफूलाई कुनै समस्या नरहेको प्रचण्डको भनाइ छ ।

प्राइम टाइम्स टेलिभिजनलाई अन्तरवार्ता दिँदै प्रचण्डले भने, ‘शेरबहादुर देउवा जी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले, त्यसको दलको नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री स्वीकारेको हो ।’ प्रचण्डले थपे, ‘उहाँले भनेका अरु जोसुकैल व्यक्तिलाई पनि प्रधानमन्त्री मान्न मलाई कुनै समस्या छैन ।’

आफूले प्रधानमन्त्री पदमा दाबी नगरेको समेत प्रचण्डले बताए । ‘नेकपाको संसदीय दलको नेता म पक्कै पनि हुँ, तर यसको अर्थ म प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन ।’ प्रचण्डले भने, ‘प्रधानमन्त्री केपी ओलीले देशलाई डरलाग्दो संकटको भुमरीमा हाल्दिनुभाछ । यसबाट बचाउनु छ । मुख्य काम संविधान बचाउने, प्रणाली बचाउने र जनताको आकांक्षालाई सम्बोधन गर्ने कुरा हो । त्यसको निम्ति फेरि पनि प्रधानमन्त्री म दाबी गर्दिनँ मैले भनेको छु ।’

उनले संविधानको रक्षा, प्रणालीको रक्षा, स्थायित्व र विकासको निम्ति नेकपा, नेपाली कांग्रेस र जसपाको बीचमा राम्रो राष्ट्रिय सहमति हुनुपर्यो भनेर छलफल गरेको जानकारी दिए । ‘हामी मिलेर नजाने हो भने संविधान बचाउन, प्रणाली बचाउन, जनताको विकास, समृद्धिको आकांक्षा सम्बोधन गर्न, राष्ट्रिय स्वाधिनता, यसको भौगोलिक अखण्डताको रक्षा गर्न गाह्रो हुने स्थिति आयो, त्यसकारण हामी एक ठाउँमा हुनुपर्यो भनेर भनेकै छौं हामीले ।’

अध्यक्ष प्रचण्डले तत्कालिन एमालेका नेताहरुलाई आफूले कुनै लोपलालच देखाएर वा कुनै दवाव नदिएर आफूनिकट ल्याएको आरोप अस्वीकार समेत गरेका छन् । उनले भने, ‘मैले उहाँहरु(माधव नेपाल र झनाथ खनाल) तत्कालिन एमालेलाई वर्षौं हाँकेर हिँड्नुभएको मान्छे । लोकतन्त्र, शान्तिप्रक्रिया र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको मान्छे अनि प्रधानमन्त्री पनि भइसक्नुभाको मान्छे । उहाँहरु मैले फकाएर फकिने मान्छे पछि होइन ।’

प्रचण्डले नेपाल र खानाल लोकतन्त्र, संविधान र स्थायित्व बचाउन आफूसँग आएको तर्क गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्