वकिललाई बहस गर्न आधा घण्टाको समय निर्धारण




काठमाडौं
: प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिट निवेदनमा बहस गर्न कानुन व्यवसायीहरुका लागि आधा घण्टाको समय तोकिएको छ । प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबारको इजलासमा बहसका लागि आधा घण्टाको समय तोकिएको जानकारी दिए ।

संवैधानिक इजलासमा बहस गर्न उपस्थित वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलाई समय दिँदै प्रधानन्यायाधीश जबराले भने, ‘डा.साबलाई आधा घण्टा, आजदेखि हामीले समय निर्धारण गरेका छौं ।’ बहस सुरु भएको र सकिने समयबारे जानकारी दिन इजलासमा टाइमर पनि राखिएको छ ।

यसअघि कानुन व्यवसायीहरुले चाहेजति समय बहस गर्न पाउँथे । एउटै कानुन व्यवसायीले लामो समयसम्म बहस गर्दा प्रतिनिधि सभा विघटनको मुद्दाको न्यायिक निरोपणमा ढिलाइ हुने चिन्ता व्यक्त गरिएको थियो ।

प्रधानन्यायाधीश जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसविरुद्ध एक दर्जन रिट निवेदन सर्वाेच्चमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्