ओखलढुङ्गामा मतदाता नामावली अद्यावधिक



ओखलढुङ्गा : निर्वाचन कार्यालय ओखलढुङ्गाले जिल्लाका आठवटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ ।

आगामी बैशाख १७ गते र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको पूर्वतयारी स्वरुप जिल्ला निर्वाचन कार्यालयले काम थालेको हो । जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले मंगलबार पत्रकार सम्मेलन मार्फत जिल्लाका सबै स्थानीय तहमा आगामी माघ १५ देखि २१ गतेसम्म र जिल्लामा माघ २६ सम्म मतदाता अद्यावधिकको कार्यक्रम रहेको जानकारी दिएको हो ।

जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेका अनुसार निर्वाचनसम्बन्धी कार्यक्रम कार्यान्वयन तालिका भित्र रहेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालनको तयारी गरेको जनाए । उनले भने ‘मतदाता नामावलीमा भएको त्रुटि सच्याउने, नाम हटाउने वा दोहोरो नाम हटाउने काम सम्पन्न भएपछि जिल्ला निर्वाचन कार्यालयको सर्भरमा विवरण अद्यावधिक गर्ने, त्यसपछि निर्वाचन आयोगमा डाटा एकीकरण गर्ने, दोहोरो परीक्षण गरी दोहोरिएको डाटा हटाउने र आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गराएर सोको विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिने छ ।’

कार्यालयले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउनका लागि राजनीतिक दल, गैरसरकारी संघ/संस्था, नागरिक समाज, सञ्चारकर्मी सबैलाई प्रचार–प्रसारका लागि सहयोग गर्न आग्रह गरेको छ । आगामी बैशाख १७ गते र २७ गते तोकिएको निर्वाचनमा गत पुस ५ गते १८ वर्ष उमेर पूरा भएका मतदाताले मात्र मतदानमा सहभागी हुन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्