सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी



धनगढी : सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुने चर्चा चलेको छ । सुदूरपश्चिम प्रदेश सरकारका तीन जना मन्त्रीलाई हटाएर राज्यमन्त्रीसहित सात जना नयाँ मन्त्री थप्ने नेकपा प्रचण्ड–नेपाल समूहले गृहकार्य अगाडि बढाएको जनाइएको छ ।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्रीले थालेको बताइएको छ । नयाँ सामाजिक विकास मन्त्रीमा प्रदेश सभा सदस्य पूर्णा जोशी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा प्रमुख सचेतक तारालामा तामाङ र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा विरमान चौधरीलाई नियुक्त गरिने दाबीसहितको सूची बाहिरिएको छ ।

यस्तै भौतिक पूर्वाधार विकास मन्त्रीमा मानबहादुर धामी र आर्थिक मामिला तथा योजना मन्त्रीमा पूर्व सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी बन्ने पनि म्यासेन्जरमा आदानप्रदान भइरहेको सूचीमा उल्लेख गरिएको छ । विगतमा मुख्यमन्त्रीका दाबेदारसमेत रहेका नेकपाका सचेतक अक्कल रावल वन तथा वातावरण राज्यमन्त्री र कुन्ति जोशी भौतिक पूर्वाधार विकास राज्य मन्त्री बन्ने चर्चा चलेको छ । तर म्यासेन्जरमा आदानप्रदान भइरहेको मन्त्रालयगत जिम्मेवारी बाँडफाँड सहितको सूचीबारे आधिकारीक पुष्टि भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्