भारतद्वारा अनुदानमा कोरोनाको खोप दिने घोषणा



काठमाडौं : भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

भारतको बाह्य मामिला मन्त्रालयले आज विज्ञप्ति जारी गरी छिमेकीहरु भारतका मुख्य साझेदार देशलाई आफ्नो मुलुकमा उत्पादित कोरोनाविरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको जनाउँदै आजैदेखि नेपाल, भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई खोप उपलब्ध गराउने बताएको छ । अफगानिस्तान, श्रीलङ्का र मरिससट भने खोपको स्पष्ट आवश्यकतासम्बन्धी जानकारी प्राप्त नभएकाले ती देशमा आवश्यकताअनुसार पछि उपलब्ध गराइने जनाइएको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । भारतबाट अनुदान सहायतास्वरुप प्राप्त हुने कोरोनाविरुद्धको खोपका विषयमा पत्रकार सम्मेलनमा जानकारी गराइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्