‘छोरी कुटेर बुहारी तर्साउने काम ओलीले गरेका छन्’



काठमाडौँ : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले नेकपा पार्टीभित्रको आन्तरिक विवादमा प्रधामन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको वरिष्ठ बताएका छन् ।

सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बुधबार बहस गर्दै उनले पार्टीभित्रको विवादमा संसद्‍माथि प्रहार गर्नु संविधानविपरीत भएको बताए । उनले भने, ‘प्रधानमन्त्री केपी ओली र उनको पार्टी नेकपाको लडाइँमा संसद् मिचिएको छ । छोरी कुटेर बुहारी तर्साउने काम केपी ओलीले गरेका छन् । पार्टीका मान्छेलाई देखाइदिन ओलीले संसद् विघटन गरेका हुन् ।’ जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधिसभाको के कसुर थियो र विघटन गर्नुपर्यो भनेर वरिष्ठ अधिवक्ता भण्डारीले प्रश्न गरेका थिए ।

प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले सर्वसत्तावाद लाद्न खोजेको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीले भने, ‘उहाँले जनताको वारेस (संसद्) को विश्वासमा काम गर्नुपर्छ । जब अविश्वासको प्रस्ताव आउँछ भन्ने थाहा भयो संविधानमा नभएको अधिकार प्रयोग गरेर जनताको वारेसलाई स्वाहा गर्ने ?’

केपी ओली प्रधानमन्त्री मात्रै नभएर नेकपाको अध्यक्ष पनि भएकाले पार्टीले कारबाही गर्न पाउने भण्डारीको भनाइ थियो । उनले आफूलाई कारबाही गर्न खोज्दा जनप्रतिनिधिको संस्था संसद्‍माथि प्रहार गर्नु गैरसंवैधानिक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्