मलेशियामा ३५ नेपालीका शव अलपत्र



काठमाडौं : मलेशियामा ३५ जना नेपालीको शव अलपत्र परेको छ । वैदेशिक रोजगारीका क्रमा मलेशिया पुगेका नेपालीहरुको विभिन्न कारणले मृत्यु भएपछि उनीहरुको शव अलपत्र परेको हो ।

ती शवहरु वैदेशिक रोजगारीका लागि त्यहाँ गएका नेपाली कामदारका हुन । शवहरू नेपाल ल्याउन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार अहिले मलेशियामा विभिन्न कारणले निधन भएका नेपालीका शवहरू रहेका छन् । त्यस्ता कारणमा दुर्घटना, हृदयाघात, विभिन्न रोग र आत्महत्यालगायत रहने गरेका छन् ।

मलेशियास्थित नेपाली दूतावासका अनुसार हाल त्यहाँ ३५ जना नेपालीका शवहरू विभिन्न अस्पतालमा छन् । ती शवहरू नेपाल ल्याउन सरकारलाई आग्रह गरिएको छ र यसै साता नेपाल वायुसेवा निगमको जहाज मलेशिया जान लागेको हो ।

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा निधन भएकाहरूको शव ल्याउने र परिवारसम्म पु¥याउने गर्छ । वैदेशिक रोजगारीमा रहेका नेपालीको धेरै मृत्यु हुने देशहरूमा मलेशिया पनि पर्छ ।
कोरोनाभाइरससँग जुझ्न भन्दै मलेशियाले गत साता त्यहाँ सङ्कटकाल लगाएको छ । उक्त सङ्कटकाल आउँदो अगस्टसम्म रहनेछ ।

कोभिड-१९ का कारण मलेशिया र नेपालबीच नियमित उडानहरू बन्द भएको हु्ँदा शवहरु नेपाल ल्याउन नसकिएको नेपाली अधिकारीहरू बताउँछन् । शव ल्याउन नेपाल वायुसेवा निगमको ठूलो वाइडबडी छिट्टै मलेशिया जान लागेको हो । त्यसै अनुरूप शुक्रवार निगमको जहाज मलेशिया जान लागेको छ भने शनिवार १८ वटा शवसहित यात्रु लिएर फर्कने छ ।

वैदेशिक रोजगार बोर्डका श्रेष्ठका अनुसार कोभिडकै कारण अहिलेको समस्या उत्पन्न भएको हो । अहिले यात्रु नहुँदा नेपाल र मलेशियाबीच सातामा तीनवटा मात्र उडानहरू भइरहेको र सानो जहाजमा एउटा उडानमा एउटै मात्र शव ल्याउन सकिन्छ । कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएकाको शव नेपाल नल्याई उतै अन्तिम संस्कार गर्ने गरिएको छ । बोर्डको तथ्याङ्क अनुसार गत वर्ष मलेशियामा १७६ जना नेपाली कामदारको निधन भएको थियो ।

गत वर्ष विभिन्न देशमा गरेर कुल ६५६ जना वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको निधन भएको बोर्डको तथ्याङ्क छ । मलेशियामा वैधानिक कागजात भएका र नभएका गरी करिब पाँच लाख नेपाली कामदारहरू छन् ।

प्रकाशित : ७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्