मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा छलफल



काठमाडौं : कांग्रेसले प्रदेश १ र बागमती प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमा छलफल गरेको छ ।

सभापति शेरबहादुर देउवाले आज प्रदेश १ का नेताहरूसँग छलफल गरेका हुन् । उनले बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेताहरूसँग छलफल गरेको नेता रमेश लेखकले जानकारी दिएका छन् । उनले भने,‘प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वासको प्रस्तावका विषयमा सभापतिले प्रदेश १ का नेता तथा पार्टी पदाधिकारीसँग आज छलफल गर्नुभयो ।’
आजको छलफलमा विभिन्न सुझावहरू आएको भए पनि निर्णय भने नभएको बताइएको छ । सभापति देउवाले आगामी ९ गते बागमती प्रदेशका नेताहरूसँग छलफल गर्ने छन् ।

त्यस छलफलबाट आएको सुझावको आधारमा कांग्रेस केन्द्रीय समितिले निर्णय गर्ने बताइएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक आगामी १३ गते बस्ने भएको छ । प्रदेश १ र बागमती प्रदेशसभामा नेकपाका प्रचण्ड–माधव समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । दुवै प्रदेशको सत्ता समीकरणमा कांग्रेस निर्णायक रहेको छ ।

त्यस्तै, मुख्यमन्त्रीविरुद्ध पेश भएका अविश्वासको प्रस्तावका विषयमा कांग्रेसमा २ खाले धारणा देखिएको छ । सस्थापन पक्ष यस विषयमा के गर्ने भन्नेमा अन्योलमै छ भने अर्को पक्ष भने यो विषय प्रक्रियामा गएपछि अविश्वासको प्रस्तावमा समर्थन जनाउने संकेत गरेको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पुस १२ गते नेकपाको प्रचण्ड-माधव समूहका ३७ प्रदेशसभा सदस्यहरूले हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । यता बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध पनि नेकपाकै त्यही समूहले पुष १० गते ४५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

प्रकाशित :७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्