निर्वाचन कार्यक्रममा सहभागी हुन काँग्रेसले निर्देशन दिएको खुलासा



काठमाडौं : नेपाली काँग्रेसले मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन पार्टी जिल्ला कार्यसमितिलाई परिपत्र गरेको खुलेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन सबै जिल्ला सभापति परिपत्र गरेको खुलासा भएको हो । प्रधानमन्त्री केपी ओलीले ५ पुसमा संसद विघटन गरी वैशाख १७ र २७ का लागि मध्यावधि निर्वाचनको घोषणा गरेका छन् ।

यस्तै निर्वाचन आयोगले १५ माघदेखि २१ सम्म ७५३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । १८ वर्ष उमेर पुगेका व्यक्तिको नामावली अद्यावधिकका लागि ७ सय ५३ स्थानीय निकायमा आयोगले पत्र पठाएको थियो ।

काँग्रेसले जारी गरेको परिपत्रमा निर्वाचन आयोगले गर्ने मतदाता नामावली प्रकाशन, मतदाताको नाम वा विवरणमा त्रुटि भए सच्याउन निवेदन दिने, झुठो विवरण दिई मतदाता बनेको भए उजुरी दिनेलगायतका कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ ।

त्यसैलाई सहयोग हुनेगरी सहभागी हुन काँग्रेसले परिपत्र जारी गरेको हो । कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध दोस्रो चरणका आन्दोलन गरिरहेको छ । पहिलो चरणमा पुस १३ मा १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको कांग्रेसले दोस्रो चरणमा पुस २५ मा ३३० प्रदेशसभा क्षेत्रमा र माघ ३ गते ७५३ पालिकामा विरोध सभा गरिसकेको छ ।

गत साता आयोगले निर्वाचनसम्बन्धी कार्यक्रमबारे दलहरूसँग छलफल गरेको थियो । संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै काँग्रेस विरोधमा उत्रिएको काँग्रेसले निर्वाचन सम्बन्धि कार्यमा सहयोग गर्ने परिपत्र गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बिहीबार देशैभरका वडाहरूमा विरोध कार्यक्रम गर्न लागेको कांग्रेसको यो परिपत्रले निर्वाचनमै केन्द्रित हुन लागेको हो कि सन्देश पनि दिएको छ ।

पत्रको बोधार्थ सबै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका सभापति, प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापति र सबै पालिका समितिका सभापतिलाई पनि पठाइएको छ ।

प्रकाशित : ७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्