आयोगको सबै प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति, गृहले माग्यो १६ सय गाडी



काठमाडौं : निर्वाचन आयोगले सरकारले घोषणा गरेको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न तयारीलाई तीव्रता दिएको छ ।

स्थानीय तहमा शिक्षा वा सामाजिक विषयसँग सम्बन्धित शाखाको प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोकिनेछ निर्णय भएको छ । निर्वाचनको तयारीको लागि आज निर्वाचन आयोगले सबै प्रदेश र ७५३ वटै स्थानीय तहमा जना सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ ।

आयोगले तोक्ने सम्पर्क व्यक्तिले निर्वाचनसँग सम्बन्धित ऐन, नियम, निर्देशिकालगायतमा भएको व्यवस्था अनुसारको कार्यसम्पादन गर्न सक्ने हुनुपर्ने जनाएको छ । “स्थानीयस्तरमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम, निर्वाचनसँग सम्बन्धित विभिन्न सूचना तथा सन्देशको सम्प्रेषण गर्नेलगायतका कार्यहरू सञ्चालन गर्न र आयोगबाट तोकिएका कार्यहरूमा आवश्यक सहयोग र समन्वयका लागि निर्वाचन आयोगले सबै प्रदेश र स्थानीय तहमा एकरएक जना सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ,” आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त निर्णय अनुसार सबै प्रदेशमा निर्वाचनसम्बन्धी विषयमा आवश्यक समन्वय गर्न सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव वा सो सरहका एक जना कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति तोकिनेछ । सम्पर्क व्यक्तिले आयोगलाई आवश्यक जानकारी दिने छन् । जानकारी गराउने व्यवस्थाका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र स्थानीय तहमा शिक्षा वा सामाजिक विषयसँग सम्बन्धित शाखाको प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोकिने विज्ञप्तिमा उल्लेख छ ।

यसका लागि आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरिसकेको र प्रदेश र स्थानीय तहमा रहने सम्पर्क व्यक्तिको कार्यविवरणसमेत आयोगले स्वीकृत गरेको जनाएको छ।

त्यस्तै, गृह मन्त्रालयले निर्वाचनको तयारीको लागि अर्थ मन्त्रालयसँग १ हजार ६ सय गाडी खरिद गर्नको लागि रकम माग गरेको छ । सरकारले वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेपछि गृहले निर्वाचनको तयारीको लागि अत्यावश्यक सवारी साधन खरिदको गर्न रकम माग गरेको हो ।

प्रकाशित :७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्