निर्धारित मितिमै चुनाव हुन्छ : मन्त्री ठगुन्ना



काठमाडौं : संघीय मामिला तथा समान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकार निर्वाचनको तयारीमा जुटिसकेकोले निर्धारित मितिमै चुनाव हुने दाबी गरेका छन् ।

मन्त्री ठगुन्नाले भने,‘अहिले देश जनताको ताजा जनादेश लिनको लागि अगाडि बढेको छ । हामी अहिले निर्वाचनको सम्मुखमा छौं । सरकारले निर्वाचन गर्ने कार्यक्रमहरुको लागि पर्याप्त तयारीहरुको थालनी गरेको छ । त्यहीअनुसारको तयारी र कार्यक्रमहरु अघि बढाएको छ । निर्वाचन अयोगले पनि निर्वाचनसम्बन्धी कामकारबाहीहरू अगाडि बढाएको छ ।’

बुधबार राजधानीमा भएको साक्षात्कारमा बोल्दै उनले पाँच वर्षको लागि जनताबाट मत पनि प्राप्त भएको र प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि जनताको म्याण्डेअनुसार काम गर्दै आएको दाबी गरे ।

झण्डै दुई तिहाई बहुमतप्राप्त प्रधानमन्त्रीलाई प्रतिपक्षसँग मिलेर सरकार असफल गराउने खेल सुरु भएपछि, जनताको जनादेश लिनु नै ठूलो कुरा भएको हुनाले वर्तमान सरकारले निर्वाचनको घोषणा गरेको उनको भनाइ छ ।

मन्त्री ठगुन्नाले वर्तमान सरकारले घोषणा गरेको निर्वाचन संविधानअनुरुप नै रहेको पनि दाबी गरे ।
संसद पुनःस्थापनाकोे सम्भावना नभएको दाबी गर्दै उनले थपे-‘संसदमा सरकार बनाउने विकल्प नभएको हुँदा संविधानअनुसार संसद पुनःस्थापना हुन सकदैन् । संवैधानिक हिसाबले पनि निर्वाचनमा जाने कुरा उपयुक्त हो ।’

उनले नेकपा नफुटेको पनि जिकिर गरे । उनले भने,‘नेकपा फुटेकै छैन् । नेकपा छँदैछ । दुई वटा भएको भए पो मान्यताप्राप्त कसले पाउँछ रु भन्ने कुरा आउँछ । नेकपाको नेतृत्व प्रधानमन्त्री ओलीले गर्नुभएको छ । संस्थागत रुपमा नेकपा एकीककृत नै छैन् । आधिकारिक पनि त्यही कुरा हो ।’

प्रकाशित : ७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्