मधेशीको अधिकार सुरक्षित नभए जस्तोसुकै संघर्ष गर्छौ :अध्यक्ष यादव



राजविराज : जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता, लोकतन्त्र र परिवर्तनमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

यादवले कांग्रेस र कम्युनिष्टले पटकपटक नेपालको संविधानको उल्लंघन गर्दै आएको आरोप लगाउँदै पछिल्लो कडीका रुपमा ओलीले संविधानमाथि प्रहार गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाए ।

जनता समाजवादी पार्टी सप्तरीद्वारा बुधबार राजविराजमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै यादवले अदालतलाई धम्क्याउने कार्य भइरहेको दाबी गरे । ‘आफ्नो पक्षमा फैसला ल्याउन सरकारद्वारा सर्वोच्च अदालतलाई धम्क्याएर निर्देशित गर्ने कार्य भइरहेको छ, लोकतन्त्रमा यो सुहाउँदैन्,’ यादवले भने ।

यादवले भने,‘२०४७ सालको संविधानलाई बाधा अड्काउ फुकाउको नाममा ज्ञानेन्द्रले कुल्चँदै संसद् विघटन गरी प्रतिगमन गरे । २०६३ को अन्तरिम संविधानमा संघीयता, गणतन्त्र, समावेशी र पहिचानका कुरा उल्लेख नै गरिएनन् । अन्तरिम संविधानलाई रातारात संशोधन गरी प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाए । अनि मधेसीमाथि दमन गरेर ल्याइएको र विश्वकै उत्कृष्ट भनिएको संविधान अहिले ओलीले उल्लंघन गरेका छन् ।’ अधिकार सुरक्षित नभए आफूहरु जस्तोसुकै संघर्ष गर्ने यादवले चेतावनी दिए ।

कार्यक्रममा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओली महाप्रतिगमनकारी भएको आरोप लगाए । ‘हामी अधिकारको माग गर्दा बल प्रयोग गरेर संविधान ल्याइ पहिलो पटक भएको प्रतिगमनमाथि पुस ५ गते संसद् विघटन गरेर महाप्रतिगमन भयो । ओली महाप्रतिगमनकारी हुन्,’ महतोले भने । ‘ओलीले अधिकार माग्दा मधेसी जनतामाथि गोली वर्षाएर हत्या गरे । अहिले संविधानकै हत्या गरे,’ महतोले भने, ‘उनी संविधान र जनता दुवैका हत्यारा हुन् ।’

प्रकाशित :७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्