ओलीको प्रतिगमन विरूद्ध काठमाडौंमा २ लाख उतार्ने प्रचण्ड-नेपालको तयारी



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राजधानीमा भोली (शुक्रवार) विशाल जन प्रदर्शन गर्ने भएको छ ।

नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध २ लाख कार्यकर्तासहितको जन प्रदर्शन गर्ने भएको हो ।

नेकपाले निकालेको विज्ञप्ति अनुसार भोलिको प्रदर्शनका लागि जिल्लाबाट कार्यकर्ता काठमाडौं आउने क्रम जारी छ । जिल्लाबाट आएका कार्यकर्ताहरु उपत्यकाका विभिन्न नाका जम्मा हुने र काठमाडांैंको शान्तिवाटिकामा पुग्ने कार्यक्रम रहेको आन्दोलन परिचालन कमिटीका सचिव डा.विजयकुमार पौडेलले जानकारी दिए ।

भोलीको जन प्रदर्शनपछि अदालत, काम चलाउ प्रधानमन्त्री तथा अलमलमा रहेका सबै आम जनसमुदाय भ्रममुक्त हुने बताइएको छ । प्रतिनिधि सभा विघटन गरेर सरकारले असंवैधानिक काम गरिरहेको र यो रोक्ने काम अदालत रहेको पौडेलले बताए ।

अदालतले रोक्न सकेन भने अन्तिम निकायको रुपमा जनअदालतले नै छिनोफानो गर्ने पौडेलको भनाइ छ । उपत्यकाको नाकाबाट एकिकृत हुँदै शान्तिवाटिका पुगेको जुलुस आमसभामा परिणत हुने र सभालाई नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा जनाएको छ । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले आफूहरूले प्रतिगमनविरूद्ध भद्र र शान्तिपूर्ण प्रदर्शन गर्ने बताए ।

प्रकाशित :८ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्