रुकुमको राडीमा लगाइएको कर्फ्यु हटाइयो



रुकुम : रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ को राडीबजारमा लगाइएको निषेधाज्ञा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले बिहीबार दिउँसो १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा हटाइएको जनाएको हो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र ६ (३ क) बमोजिम मंगलबार बेलुकी ५ बजेदेखि चार किल्ला तोकेर लगाइएको निषेधाज्ञा हटाइएको जानकारी दिए ।

नेकपा (दाहाल-नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबीच ६ गते दिनभर झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा लगाएको थियो । अहिले अवस्था सामान्य रहेको भन्दै प्रशासनले निषेधाज्ञा हटाएको जनाएको छ ।

रुकुम पश्चिमको आठवीसकोट नगरपालिका ९ राडी बजारमा मंगलबार भएको झडपमा घाइते भएका तीन जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको छ । काँग्रेस नेता एवं ९ नम्बर वडाध्यक्ष तारकबहादुर शाही, नेपाल विद्यार्थी संघका नेता तेजविक्रम आरसी र काँग्रेस कार्यकर्ता दीपक केसी गम्भीर घाइते भएका छन् ।

आठबीसकोट नगरपालिकाको केन्द्र ९ नम्बर वडाको राडी बजारमा प्रहरी कार्यालयमै छलफलको क्रममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले २० राउन्ड हवाई फायर गरेको थियो भने केही सेल अश्रुग्यास पनि प्रहार गरेको थियो । बेलुकी ५ बजे राडी बजारमा निषेधाज्ञा जारी गरिएपछि भीड तितरवितर भएको थियो ।

बुधबार इलाका प्रहरी कार्यालय आठबीसकोटमा छलफल चलिरहेकै समयमा नेकपा (दाहाल-नेपाल) समूहका कार्यकर्ताले आक्रमण गर्दा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाही, नेविसंघका जिल्ला उपाध्यक्ष तेजबिक्रम आरसी, कांग्रेस क्रियाशिल सदस्य दीपक केसीसहित पाँचजना घाइते भएको कांग्रेसले जनाएको छ । कार्यकर्ताबीच आठबिसकोटमा खानेपानी, बस काउन्टरलगायतका विषय विवाद भएको थियो ।

प्रकाशित :८ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्