शुक्रबार दाहाल-नेपाल पक्षको प्रदर्शन शान्तिपूर्ण हुने



काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको प्रचण्ड-नेपाल समूहले शुक्रबार राजधानीमा गर्ने जनप्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ ।

संविधानले निर्दिष्ट गरेको सीमाभित्र रहेर गरिने सो प्रदर्शन पूर्णतयः शान्तिपूर्ण हुने उक्त पार्टीको केन्द्रीय संघर्ष समितले जनाएको छ । आन्दोलनका विषयमा फैलाइएका कुनै पनि भ्रममा नपर्न संघर्ष समितिद्वारा जारी विज्ञप्तिमा अपिलसमेत गरिएको छ ।

प्रदर्शनमा घुसपैठ गरी शान्तिपूर्ण आन्दोलनलाई बिथोलेर अराजकता र द्वन्द्वतिर लैजाने प्रयासप्रति भने सचेत रहेको संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जनाएका छन् । विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदूर र खेलकूद मोर्चाका दुई हजार स्वयंसेवक परिचालन गरिने बताइएको छ ।

नेकपाले जनसमुदायलाई शान्तिपूर्ण, मर्यादित तर जुझारुरुपमा प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गरेको छ । “यो आन्दोलन, विरोध प्रदर्शन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मात्रै नभएर सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था, संविधान र अग्रमनका पक्षधरको साझा आन्दोलन हो”, संघर्ष समितिका संयोजक श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित :८ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्