विश्व बिजेता रुप कार्कीको निधन



काठमाडौं : भारत्तोलनका स्वर्णपदक बिजेता रुप कार्कीको निधन भएको छ ।

रुपन्देही स्थायी घर भएका कार्कीको बुटवलबाट काठमाडौं उपचारका लागि ल्याउँदै गर्दाबीच बाटोमै निधन भएको हो ।

कार्की शरीर बनाउन कुनै औषधिको सेवन नगरेका समूहमा प्रतियोगितामा भाग लिने भारत्तोलक खेलाडी हुन् । उनले एटलान्टा आईपीएल, इन्टरनेसनल पावर लिफ्टइङ्ग प्रतियोगिता (अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा) आफ्नो तौल समूहमा स्वर्ण जिती नेपालको नाम विश्वमा पुर्याउन सफल थिए ।

उनले कुल १४ सय पाउण्ड उठाइ स्वर्णपदक प्राप्त गरेका थिए । ४ दिनसम्म सञ्चालित मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडि पारेर स्वर्ण जितेका थिए । नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।

उनी अमेरिकास्तरीय प्रतियोगितामा झण्डै दर्जन खेलमा स्वर्ण पदक जित्दै च्याम्पियन बनेका थिए । अन्तर्राष्ट्रिय भारत्तोलन (पावर लिफ्टिङ) खेलमा दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल भएका थिए । सन् २००९ देखि भारत्तोलनको अभ्यास सुुरु गरेका कार्की सन् २०१२ देखि पुर्णरुपमा भारत्तोलन खेलमा सक्रिय रहेका थिए ।

कार्कीले अमेरिकाबाट नेपाल फर्केपछि बांँकी जीवन भारत्तोलन खेलमा बिताउने बताएका थिए । बागलुङ जिल्लाको गल्कोटमा जन्मिएका उनको परिवार रुपन्देहीको तिलोत्तमा-६ भलवारीमा बसाई सरेको हो । भारत्तोलन खेलकै लागि दैनिक ३ देखि ५ घण्टा नियमित ब्यायाम गर्न कार्कीले भनेका थिए,‘म मेरो लागि नभएर नेपाल र नेपालीको पहिचानका लागि खेलिरहेको छु । खेलको माध्यमबाट नेपाललाई चिनाउन पाएकोमा निकै गर्व लागेको छ ।’

अभियानमा जीवन संगिनी शोभा सुबेदी र छोरा रुपेशको साथ र हौसलाले सफलता चुम्न सफल भएको उनले बताउँने गर्थे ।

प्रकाशित :९ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्