मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश



बाग्मती : बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ ।

प्रदेशसभाको आजको बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिनुभएका अरुणप्रसाद नेपालले अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

गत पुष १० गते प्रदेश सरकारका तीन मन्त्रीसहित सत्तापक्षका ४५ प्रदेशसभा सदस्यले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासका प्रस्तावमा मुख्यमन्त्री पौडेललाई पदमुक्त गरी मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई अगाडी सारिएको छ ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्न प्रस्तावको पहिलो हस्ताक्षरकर्ता निवर्तमान मन्त्री नेपाललाई समय दिएका थिए । प्रस्ताव प्रस्तुत गर्दै निवर्तमान मन्त्री नेपालले कोभिड नियन्त्रणमा प्रदेश सरकारले कुनै पनि भूमिका खेल्न नसकेको, अपराध न्यूनीकरण, महँगी नियन्त्रणलगायत काममा ध्यान नपु¥याएको, समाजवादोन्मुख काम गर्न नसकेको, गरीबी नियन्त्रणमा काम गर्न नसकेको आरोप लगाए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल पक्षका नेपालले आफूले प्रदेश सरकारले गर्नुपर्ने कामको बुँदा प्रस्तुत गर्दासमेत कार्यान्वयन नभएको आरोप लगाउँदै सरकारको औचित्यता पुष्टि चुनौती दिए । निवर्तमान मन्त्री नेपालले सङ्घीताका बारेमा जनमत लिनुपर्ने माग पनि गरे।

अविश्वासको प्रस्ताव प्रस्तुतिसँगै प्रदेशसभाको बैठक माघ १९ सम्मका लागि स्थगन भएको छ । प्रदेशसभाको आगामी बैठक १९ गते दिउँसो २ बजे बस्ने जनाइएको छ । रासस

प्रकाशित :९ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्