वडाध्यक्षलाई कारबाही गर्न प्रदर्शन



मलंगवा : सर्लाहीको विष्णु गाउँपालिका–२ का वडाध्यक्ष सञ्जय साहमाथि कारबाही माग गर्दै दलित संघर्ष समितिले आइतबार मलंगवामा प्रदर्शन गरेको छ। पानी खाएको निहुँमा एक दलितलाई हातपात गरेकाले उनलाई कारबाही गर्नुपर्ने माग समितिले गरेको हो।

 

वडाध्यक्ष साह र कार्यालय सहयोगी रामईश्वर चौधरीले गत साउन २७ गते अजय रामलाई हातपात गरे पनि प्रहरीले उजुरी नलिएको समितिले जनाएको छ। त्यही भएर बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको दलित अगुवाको भनाइ छ। छोरोको पोषण भत्ता लिन वडा कार्यालय पुगेका रामले टेबलमा राखिएको पानी पिएको भन्दै उनीहरूले दुव्र्यवहार गरेको आरोप लगाइएको छ।

 

यो घटनामा दुई महिनासम्म पनि प्रहरी–प्रशासनले सुनवाइ नगरेको दलित अगुवा राजेश पासवानले बताए। पीडितले न्याय नपाएपछि आन्दोलनमा उत्रिनुपरेको उनले सुनाए। उनका अनुसार घटनाको भोलिपल्ट नै प्रहरी कार्यालयमा निवेदन दिइएको थियो। ‘जातीय विभेद र छुवाछूत गर्नेलाई हदैसम्मको कारबाही गर्ने संविधानमा उल्लेख छ’, उनले भने, ‘तर, घटनाको दुई महिना बितिसक्दा पनि कारबाही भएको छैन।’

 

वडाध्यक्षले भने आफूलाई बदनाम गराउन अजय रामलगायत व्यक्ति लागिपरेको दाबी गरे। आफूले रामलाई केही नगरेको उनको प्रतिक्रिया छ। सचिवसँग रामको सामान्य भनाभन मात्र भएको उनले स्वीकार गरे। सामान्य विवादलाई राजनीतिक रूप दिएर बढाउन मात्र खोजिएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए। ‘घटनाबारे अनुसन्धान हुँदै छ’, उनले भने, ‘मुद्दा दर्ता गरेर मात्र दोषी पत्ता लाग्दैन।’

प्रतिक्रिया दिनुहोस्