सडकमा राखिएको बम नेपाली सेनाद्वारा डिस्पोज



बैतडी : महाकाली लोकमार्ग अन्तर्गत सतबाँझ-गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिका ६ चम्तडीमा राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

शुक्रबार राती सडकमा राखिएको डेक्ची बम दार्चुलाबाट आएको नेपाली सेनाको टोलीले शनिबार बिहान डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

विप्लव नेतृत्वको नेकपाले शनिबार नेपाल बन्दको आह्वान गरेकाले बम उसैले राखेको हुन सक्ने आशंका गरिएको छ । यद्यपि बम कसले राखेको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सडकमा राखिएको बम डिस्पोज गरिएसँगै सडक पनि सुचारु भएको छ । गएरातीदेखि अवरुद्ध महाकाली लोकमार्ग पनि सुचारु भइसकेको बताइएको छ । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण सुदूरपश्चिमका जिल्लाहरुमा प्रभाव परेको छ । बन्दका कारण सवारी साधन कम चलेका छन् भने सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : १० माघ, २०७७

प्रतिक्रिया दिनुहोस्