प्रधानमन्त्री कपमा एपिएफको लगातार तेस्रो जित, सेमिफाइनलमा प्रवेश



काठमाडौं : एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल एपिएफले लगातार तेस्रो जित निकालेको छ ।

विभागीय टोली एपीएफ प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । समूह ए अन्तर्गत शनिबार भएको खेलमा कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफ समूहको अन्तिम खेल अघि नै सेमिफाइनल पुगेको हो । लगातार तीन खेल जित्दै त्रिभुवन आर्मी यसअघि नै सेमिफाइनल पुगेको छ ।

एपिएफले दिएको २१९ रनको लक्ष्य पछ्याएको कर्णालीले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन मात्र बनायो । उसका लागि हेमन्त ओलीले अर्धशतकीय पारी खेले । ३०.१ ओभरमा रन आउट हुनुअघि उनले १०२ बलमा ६ चौकाको मद्दतले ५८ रन प्रहार गरे । हिमांशु शाहीले २० र कप्तान रवीन्द्र शाहीले १४ रनको योगदान दिए ।

एपिएफका लागि वसन्त रेग्मी र किशोर महतोले समान ३-३ विकेट, भुवन कार्की २ र कप्तान शरद भेषवाकरले १ विकेट हात पारे । १ विकेट रन आउटका रुपमा प्राप्त भयो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपिएफ ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २१८ रनमा समेटिएको थियो । सन्दीप जोराले अर्धशतकीय पारी खेले । ४२.६ ओभरमा रवीन्द्र शाहीको बलमा निश्चल रावलबाट क्याच भएका उनले ७६ बलमा ५ चौका र २ छक्काको मद्दतले ६० रन बनाए । १३ रनमा अविजित रहेका किशोर महतोले १० बलमा १ चौका प्रहार गरे । अमरसिंह रौटेलाले ३१ र सुवास खकुरेलले २३ रनको योगदान दिए ।

कर्णालीका लागि रवीन्द्र शाही र अनुज चुनाराले समान ३-३ विकेट लिँदा दिवान पुन र राज शाहले समान २-२ विकेट हात पारे । यो नतिजासँगै समूह ‘ए’बाट एपिएफ र त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । समूह चरणको आफ्नो अन्तिम खेलमा सोमबार यी दुई टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

यो खेलले समूह विजेताको टुंगो लगाएकाे छ । एपिएफले पहिलो खेलमा प्रदेश-१ लाई १३५ रन र दोस्रो खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो । आर्मीसँग ८० रनले पराजित हुँदै प्रतियोगिताको सुरुवात गरेको कर्णालीले दोस्रो खेलमा गण्डकी प्रदेशमाथि ५ विकेटको जित दर्ता गर्दा तेस्रो खेलमा प्रदेश-१ सँग ५९ रनको पराजय व्यहोरेको थियो ।

प्रकाशित :१० माघ, २०७७

प्रतिक्रिया दिनुहोस्