कोरोना खोपबारे थाहा पाउनै पर्ने कुरा !



काठमाडौं : कोरोना महामारी नियन्त्रणका लागि विश्वका धेरै देशमा खोप लगाउने अभियान सुरु भइसकेको छ । यससँग सम्बन्धित सूचना र सुझाव तपाईंलाई जटिल लागिरहेको हुन सक्छ । तर यहाँ केही त्यस्ता आधारभूत तथ्य प्रस्तुत गरिन्छ, जसले तपाईंलाई खोप कसरी बन्छ र यसले कसरी काम गर्छ भन्ने विषयमा बुझ्न मद्दत गर्छ ।

भ्याक्सिन के हो ?
कुनै पनि भ्याक्सिन शरीरमा हुने कुनै रोग, भाइरस तथा संक्रमणविरुद्ध लड्न तयार पारिन्छ । भ्याक्सिनमा कुनै जीवको केही कमजोर वा निष्क्रिय अंश हुन्छ । जसले शरीरको प्रतिरक्षा प्रणालीलाई संक्रमण अर्थात् कुनै आक्रमणकारी भाइरस चिन्न प्रेरित गर्छ र त्यसविरुद्ध लड्ने एन्टिबडी बनाउँछ ।

भ्याक्सिन लगाउँदा कमै मानिसलाई मात्र नकारात्मक असर देखिन्छ । तर केही मानिसलाई यसका साइड इफेक्टको सामाना गर्नुपर्ने अवस्था आउन सक्छ । हल्का ज्वरो आउनु वा शरीरमा डाबर देखा पर्नु सामान्य दुष्प्रभाव हुन् । भ्याक्सिन लगाएको केही समयपछि तपाईंको शरीरमा त्यस रोगविरुद्ध लड्ने प्रतिरक्षा प्रणालीको विकास हुन थाल्छ ।

अमेरिकाको सेन्टर अफ डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार भ्याक्सिन धेरै शक्तिशाली हुन्छन्, किनकि यसले अधिकांश औषधिको विपरीत कुनै रोगको उपचार होइन, त्यसलाई रोक्छ । भ्याक्सिनको प्रारम्भिक रूप चीनका वैज्ञानिकले दसौं शताब्दीमा पत्ता लगाएका थिए ।

तर सन् १७९६ मा एडवर्ड जेनरले चिकनपक्सको हल्का संक्रमणको एक डोजले चिकनपक्सको गम्भीर संक्रमणबाट बचाउँछ । उनले यस विषयमा थप अध्ययन गरे । उनले आफ्नो यस सिद्धान्तको परीक्षण पनि गरे र उनले निष्कर्ष निकालको २ वर्षपछि त्यसलाई सार्वजनिक गरे ।

त्यसै बेलादेखि भ्याक्सिन शब्दको उत्पत्ति भएको हो । यो ल्याटिन भाषा भक्का (भीएसीसीए) बाट बनेको हो, जसको अर्थ गाई हुन्छ । भ्याक्सिनलाई आधुनिक विश्वको सबैभन्दा ठूलो चिकित्सकीय उपलब्धी मध्ये एक मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार खोपका कारण हरेक वर्ष २० देखि ३० लाखसम्म मानिसको ज्यान बचाइरहको छ । सीडीसीका अनुसार बजारमा पठाउनुअघि गम्भीर ढंगले खोपको परीक्षण गरिन्छ ।

पहिले प्रयोगशालामा र त्यसपछि जनावरमा खोपको परीक्षण गरिन्छ । यसपछि मानिसमा भ्याक्सिनको ट्रायल गरिन्छ । अधिकतर देशमा स्थानीय औषधि नियामक निकायबाट अनुमति लिएपछि भ्याक्सिन आम मानिसलाई लगाउन थालिन्छ । खोप लगाउने अभियानमा निश्चित रूपमा केही जोखिम हुन्छन् तर सबै औषधि जस्तै यसका फाइदाका अगाडि ती केही पनि होइनन् ।

उदाहरणका लागि बाल्यकालमा देखिने केही रोग जुन एक पुस्ता अगाडिसम्म सामान्य मानिन्थे, खोपका कारण ती अहिले निवारण भइसकेका छन् । चिकेनपक्स जसले लाखौं मानिसको ज्यान लियो, अहिले त्यो पूर्ण रूपमा अन्त्य भइसकेको छ । तर यस्तो सफलता प्राप्त गर्न अक्सर दसकौं लाग्छ । विश्वव्यापी खोप अभियान सुरु भएको लगभग ३० वर्षपछि अफ्रिकालाई पोलियो मुक्त देश घोषणा गरिएको थियो । यो धेरै लामो समय हो ।

विशेषज्ञले चेतावनी दिएका छन् – काेरोनाविरुद्ध विश्वभर पर्याप्त मात्रामा खोप अभियान सञ्चालन गर्न महिनौं वा वर्षाैं पनि लाग्न सक्छ, त्यसपछि मात्र हामी सामान्य अवस्थामा फर्किन सक्छौं ।

खोप कसरी बनाइन्छ ?
जब कुनै नयाँ रोगबाहक जस्तै स् जीवाणु, विषाणु, परजीवी वा संक्रमण शरीरमा प्रवशे गर्छ, तब शरीरको एक उपअंश, जसलाई एन्टिजेन भनिन्छ, ले ती जीवाणु, विषाणुविरुद्ध लड्न एन्डिबडीको उत्पादन सुरु गर्छ । भ्याक्सिनमा कुनै जीवको केही कमजोर वा निष्क्रिय अंश हुन्छ, जसले शरीरको प्रतिरक्षा प्रणालीलाई संक्रमण (आक्रमणकारी भाइरस) लाई चिन्छ र त्यसविरुद्ध एन्टिबडी बनाउँछ । जसले बाहिरी भाइरसविरुद्ध लड्न हाम्रो शरीरलाई मद्दत गर्छ ।

परम्परागत खोपले बाहिरी भाइरविरुद्ध लड्न शरीरको क्षमता विकास गर्छन् । तर अहिले खोप विकासका लागि नयाँ तरिका अपनाउन थालिएको छ । कोरोनाविरुद्ध केही खोप बनाउँदा पनि यस्तै नयाँ तरिका प्रयोग गरिएको छ ।

कोरोना खोपको तुलना
फाइजर-बायोएनटेक र मोडर्नाले बनाएका दुवै कोरोना खोप ‘म्यासेन्जर आरएनए भ्याक्सिन’ हुन्, जुन तयार गर्दा भाइरसको आनुवांशिक कोडको एक हिस्सा प्रयोग गरिएको छ । यी खोपले एन्टिजेनको कमजोर वा निष्क्रिय अंश उपयोग गर्नुभन्दा शरीरको सेललाई भाइरसको सतहमा पाइने ‘स्पाइक प्रोटिन’ले कसरी कोभिड गराउँछ भन्ने कुरा सिकाउने काम गर्छ ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले बनाएको भ्याक्सिन फेरि फरक हो । वैज्ञानिकले यो खोप बनाउँदा चिम्पान्जीलाई संक्रमित गर्ने एक भाइरसलाई केही परिवर्तन गराए र कोरोनाको आनुवांशिक कोडको एक टुक्रा पनि यसमा समावेश गरे । यी तीनै खोपलाई अमेरिका र बेलायतमा आपतकालीन प्रयोगका लागि अनुमति दिइ सकिएको छ ।

मेक्सिनको, चिली र कोस्टरिकाले पनि फाइजर खोपको व्यवस्था गर्न सुरु गरेका छन् । ब्राजिलले भने अक्सफोर्ड र सिनोभ्याकलाई ग्रिन सिग्नल दिएको छ ।

कोरोनाविरुद्ध अरू खोप पनि छन् ?
चीनको औषधि कम्पनी सिनोभ्याकले ‘कोरोना भ्याक’ नामको खोप बनाएको छ । जुन खोप चीन, सिंगापुर, मलेसिया, इन्डोनेसिया र फिलिपिन्समा लगिएको छ । कम्पनीले यो खोप बनाउँदा परम्परागत तरिका अपनाएको थियो । कम्पनीका अनुसार यो खोप बनाउन भाइरसको निष्क्रिय अंश प्रयोग गरिएको थियो । तर यो खोप कति प्रभावकारी छ भन्ने विषयमा धेरै प्रश्न उठेका छन् । टर्की, इन्डोनेसिया र ब्राजिलमा यो खोपको ट्रायल गरिएको थियो । यी देशका वैज्ञानिकले अन्तिम चरणको ट्रायलपछि यो खोप ५०.४ प्रतिशत प्रभावकारी भएको बताएका छन् ।

भारतमा पनि दुई किसिमका खोप उत्पादन भइरहेका छन् । एउटा हो-कोभिसिल्ड हो, जुन एस्ट्राजेनेका कम्पनी र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । यो खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया कम्पनीले उत्पादन गरिरहेको छ । अर्काे खोप हो-भारतीय कम्पनी भारत बायोटेकले बनाएको कोभ्याक्सिन ।

रुसले आफ्नै खोप विकास गरेको छ-‘स्पुतनिक–५’। यो खोप भाइरसको संस्करणमा थोरै परिवर्तन गरेर बनाइएको हो । यो खोप अर्जेन्टिनामा पनि प्रयोग भइरहेको छ । अर्जेन्टिनाले यो खोपको ३ लाख डोज माग गरेको छ । अफ्रिकी संघले पनि यो खोपको लाखौं डोज मगाएको छ ।

तर उसले अन्य पनि धेरै कम्पनीसँग खोप माग गरेको छ । मसलन, अफ्रिकी संघले फाइजर, एस्ट्राजेनेका (सिरम इन्स्टिच्युटका माध्यमबाट) र जनसन एण्ड जनसनसँग खोप माग गरेको छ । तर जनसन एण्ड जनसन कम्पनीले अहिलेसम्म आफ्नो खोप फाइनल गरिसकेको छैन ।

मैले पनि कोरोना खोप लगाउनुपर्छ ?
कतै पनि कोरोना खोप लगाउन अनिवार्य गरिएको छैन । तर धेरैजसो मानिसलाई खोप लगाउन नै सल्लाह दिइएको छ, तर यसमा स्वास्थ्यसम्बन्धी समस्या भएका मानिस अपवाद हुन् । विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ कि संक्रमण रोक्न कम्तीमा ६५ देखि ७० प्रतिशत मानिसले खोप लगाउन जरुरी छ ।

यसको अर्थ हो-बढीभन्दा बढी मानिसलाई खोप लगाउन प्रोत्साहन गर्न आवश्यक छ । धेरै मानिस खोप उत्पादनको गति देखेर चिन्तित छन् । यो सत्य हो कि वैज्ञानिकले खोप विकास गर्न धेरै वर्ष लगाउँछन् । तर महामारी नियन्त्रणका लागि खोप निर्माणको गति तीव्र पारिएको छ । यसका लागि विश्व स्वास्थ्य संगठनले वैज्ञानिक, व्यापारिक एवं स्वास्थ्य संघ संगठनसँग मिलेर काम गरिरहेको छ ।
संक्षेपमा भन्दा अर्बौं मानिसलाई खोप लगाएर मात्र कोरोना संक्रमण रोक्न सकिन्छ र विश्वमा हर्ड इम्युनिटी (समुदायगत प्रतिरक्षा प्रणाली) बढ्छ । विशेषज्ञका अनुसार हर्ड इम्युनिटीको विकासबाट मात्र विश्वको जनजीवनलाई फेरि सामान्य बनाउन सकिन्छ । बीबीसी

प्रकाशित :११ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्