जनताको फैसला मानौँ भन्दा कसरी तानाशाह ? प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्नेहरु संविधान र लोकतन्त्रविरोधी भएको आरोप लगाएका छन् ।
काठमाडौँमा आइतबार आयोजित अपांगता भएका व्यक्तिहरुसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले देशमा स्थिरता नचाहनेले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेको बताए ।
‘संसद विघटन भएको असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन्, ती कराउने मान्छेहरु संविधान, लोकतन्त्र, देश र जनविरोधी हुन’, उनले भने ।
उनले देशमा अस्तव्यस्तता खडा गर्न, स्थिरता र स्थायित्व हुन नदिने, बहुमतको सरकार हटाएर जोडजामको सरकार बनाएर स्थिरताको नाटक गर्ने षड्यन्त्र भएपछि आफूले प्रतिनिधि सभा विघटन गरेको बताए ।
‘स्थिरता हुन नदिने र बहुमतको सरकारको तोडेर जोडजामको सरकार बनाउन खोजियो,’ उनले भने । संसद जागिर खाने थलो नभएको ओलीको भनाइ छ ।
‘संसदमा ५ वर्ष जागिर खान पाउनुपर्छ भन्ने? सांसद भनेको जागिर हो? पाँच वर्ष जागि खान पाउनुपर्छ भन्ने उनीहरूको तर्क छ,’ उनले भने ।
उनले आफू अस्थिरताको अन्त्य गर्नका लागि जनतामा जाने निर्णय गरेको र सांसदको कामको जनताले मूल्यांकन गर्ने बताए । उनले अधिकार आफ्ना हातमा नलिएर जनतामा जाने फैसला गरेको बताउँदै आफू तानाशाह नभएको प्रस्ट पारे ।
‘मैले आफ्ना हातमा लिएको छैन, आफ्ना हातमा लिएको भए तानाशाह हुन्थ्यो’, उनले भने, ‘तपाईंहरुका बीचमा गएर, तपाईंहरुले फैसला गर्नुहोस् भन्दा म तानाशाह भएँ?, मैले त फैसला गरेको छैन ।’
उनले वैशाखमा निर्वाचन हुने दाबी गर्दै थपे, ‘वैशाखमा हुने निर्वाचनबाट देशका अहितमा काम गर्नेलाई ठेगान लगाउने अवसरका रूपमा प्रयोग गर्नुपर्छ ।’
ओलीले दुई वटा किड्नी फेर्ने प्रधानमन्त्री विश्वमा कोही नभएको पनि बताए । दुई वटा किड्नी फेरेको हुँदा आफू थोरै भए पनि अपाङगता भएको उनले बताए ।
‘मेरो पनि किड्नी फेल भएर अर्को किड्नी ल्याएर जोडेर राख्या छु । म पनि अर्को किड्नीको ह्विलचेयर बोकेर हिँड्या मान्छे हुँ । फेरि त्यो किड्नी पनि फेल भयो । त्यसपछि अर्को किड्नी राखेर नयाँ किड्नीको वैशाखी टेकेर हिंड्या हो । अलिअलि अपाङ्गता नै हो,’उनले भने । प्रधानमन्त्री ओलीले दुई वटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमा अरू कोही नभएको दाबी गरे ।
‘किड्नी फेल भएर पनि अर्को लगाएर पनि बाँच्न सकिन्छ अगाडि बढ्न सकिन्छ भन्ने आत्मविश्वास मैले लिएँ । सायद यो पनि विश्व रेकर्ड नै होला दुई वटा किड्नी फेरेको विश्वमा कोही प्रधानमन्त्री छैन,’उनले भने ।

प्रतिक्रिया दिनुहोस्