यसरी बनाईँदैछ रातो मच्छिन्द्रनाथको रथ (फोटो फिचर)



ललितपुर : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको ४८ फिट अग्लो रथ निर्माण तीव्र गतिमा भइरहेको छ । जात्राको समय नजिकिएसँगै रातो मच्छिन्द्रनाथको रथ निर्माणले तीव्रता पाएको हो । करिब दुई महिनासम्म सञ्चालन हुने जात्राको लागि रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

वैशाख २२ गते वैशाख शुक्ल प्रतिपदा तिथि पारेर रातो मछिन्द्रनाथको मूर्तीलाई रथारोहण गराइने भएकोले पनि कामलाई तीव्रता दिइएको छा:बहालका रामेश्वर महर्जनले बताए । २२ गते रथारोहण भएपछि त्यसको चार दिनपछि अर्थात् २५ गते रथयात्रा सुरु हुनेछ ।

पुल्चोकमा विधिपूर्वक पूजा गरी कृष्ण प्रतिपदाका दिन  वैशाख ७ मा रथ निर्माण सुरु गरिएको हो ।

रथयात्राका लागि तोकिएको स्थानमा घुमाएपछि जावलाखेलमा लगेर भोटो देखाइएसँगै जात्रा समापन हुन्छ ।

अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौँ नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी पर्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येक वर्ष लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ ।

१२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुआत गराएको किंवदन्ती छ ।

प्रतिक्रिया दिनुहोस्