कुटपिट गरी हत्या, जलाउँदै गरेको अवस्थामा शव बरामद



काठमाडौं :कर्तव्य गरि हत्या गरेको अभियोगमा पशुपति क्षेत्रबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा श्रीपुरका ३८ वर्षीय रवि चौधरी र नुवाकोट घर भई बालाजु बस्ने २४ वर्षीया अनु थापा रहेका छन् । रविकी श्रीमती ३६ वर्षीया बवितादेवी चौधरीको हत्या अभियोगमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

४ दिन अघिको घटनामा अनुले बबितालाई मोबाइल चोरी गर्ने अभियोगमा कुटपिट गरेकी थिइन् । सोही कुटपिटबाट घाइते भएकी बबिता आफू बस्ने पशुपतिनाथको राम मन्दिरमा बितिन् । उनको शनिबार नै मृत्यु भएको थियो ।

घटनापछि रबि र अनुले उनको शव अन्त्येष्टि गर्न खोजेका थिए । आइतबार मृत्यु भएकै ठाउँमा बबिताको शव जलाएको पाइएपछि दुवैलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार शुरुमा रविले खाल्डो खनेर श्रीमतीको शव पुर्न खोजेका थिए । तर, त्यो कुरा सम्भव नभएपछि उनले मृत्यु भएकै ठाउँमा शव जलाएका थिए । जलाएको शवको केही भाग मात्र फेला पारिएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

‘कुटपिटबाट बबिताको टाउको र अनुहारमा चोटपटक थियो, उनको उपचार भएन, शनिबार उनको मृत्यु भएको थियो,’ प्रहरीले भन्यो । मृत्यु भएपछि रविले प्रहरीलाई खबर गरेनन् । रवि र बबिता पशुपति क्षेत्रमा मिस्त्रीको काम गर्ने गरेका थिए ।

प्रकाशित :१२ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्